नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै

Posted on: 22 Feb, 2022

फागुन १०, काठमाडौँ । नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई)सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो । नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । एक सय ७६ रनको विजय लक्ष्य पछ्याएको नेपालले १८ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै एक सय सात रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११, विवेक यादवले ८, कुशल भुर्तेलले ७, जीतेन्द्र मुखियाले ५, कमलसिंह ऐरीले ४ र कप्तान सन्दीप लामिछानेले ४ रन बनाए । बलिङतर्फ युएईका अहमद राजाले ५, जुनैद सिद्दिकीले ३ तथा कशिफ दाउद र रोहन मुस्तफाले एक एक विकेट लिए ।

यसअद्धि युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ४८ बल खेल्ने क्रममा चार चौका र चार छक्का हाने । यस्तै भृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफाले ९ रन र अहमद राजाले ६ रन बनाए । बलिङतर्फ नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले तीन तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए । नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानसाग खेल्नेछ । जारी प्रतियोगिताबाट युएई र आयरलैण्ड अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटका लागि छनोट भएका छन् । आयरलैण्डले आजै सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानलाई ५६ रनले पराजित गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!