ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल ग्लोबल क्वालिफायरको तेस्रो स्थान लिन सफल

Posted on: 24 Feb, 2022

फागुन १२, काठमाडौं । ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल ग्लोबल क्वालिफायरको तेस्रो स्थान लिन सफल भएको छ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो ।

सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट पराजित गर्दै नेपाल तेस्रो भएको हो ।

नेपालको जितका लगि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो । भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । यस्तै आरिफ शेखले अविजित २१ रन जोडे ।

पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ७.३ ओभरमा ५० रनको साझेदारी गरेका थिए । आसिफ शेख १३ रन बनाएर आउट भए । 

ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् । 

त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएपछि ८७ रनमै रोकिएको थियो ।

नेपाली बलरहरू हाबी भएपछि ओमानका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् । कप्तान जिसन मक्सुद (२१) र आयान खान (१६), नसिम खुसी (१५) र कलिमुल्लाह (१४) ले मात्र दोहोरो अंकको रन छुन सके ।

लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा १३ रन खर्चिए । आरिफ शेख, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरीले १–१ विकेट लिए । यो प्रतियोगितामा पहिलो खेल खेलेका सागरले ३ ओभरमा १९ रन खर्चिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!