यूएईसँग बदला लिने अवसर: युएई अलआउट हुँदा नेपालले पायो १६९ रनको लक्ष्य

Posted on: 18 Mar, 2022

चैत ४, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा युएईले नेपाललाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलमा सोमपाल कामीले पावरप्ले चल्दै गर्दा तीन विकेट सहित ४ विकेट लिँदा युएईबिरुद्ध नेपालले कम रनको लक्ष्य प्राप्त गर्न सकेको हो । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएई ४६.३ ओभरमा १६८ रनमै अलआउट भएको छ । युएईका लागि मध्यक्रमका सीपी रिजवन र रोहन मुस्ताफाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपाली बलरले पुनरागमन गरे ।

सोमपालले चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफशेखबाट क्याच आउच गराए थिए भने ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा आसिफबाटै क्याचबउट गराए । त्यस्तै ९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिम २१ रन बनाएर आउट भए ।

युएईले पावर प्लेमा ३ विकेट गुमाएर ३५ रन मात्र जोड्न सकेको थियो । त्यसपछि ११औं ओभरको तेस्रो बलमा करण केसीले २ रन बनाएका आसिफ खानलाई आउट गराए । त्यसपछि खेलमा सीपी रिजवान र रोहन मुस्ताफाले पाँचौ विकेटका लागि २३ ओभरमा ७७ रनको साझेदारी गरेर युएईको स्कोर बढाए । दुवैले ४०-४० रन बनाए । मुस्ताफाले २ चौका र १ छक्का समेत प्रहार गरे । नेपालका लागि खतरनाक बनेका सीपी रिजवानलाई ३४औं ओभरमा कप्तान सन्दीप लामिछानेले आसिफ शेखबाट क्याचआउट गराए भने मुस्ताफालाई ३९औं ओभरमा दीपेन्द्र सिंह ऐरीले बोल्ड गरे ।

युएईका कप्तान अहमेद राज १३ रन बनाएर आउट भए । उनलाई करण केसीले दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए ।

बलिङमा नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । यस्तै करण केसीले ७.३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० रन दिएर १ विकेट लिए । त्यस्तै दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागरले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

नेपालले आजको खेलमा यूएईलाई हराउँदै अघिल्लो महिना ओमानमा आईसीसी–२० विश्वकप ग्लोबल छनोट ‘ए’को सेमिफाइनलमा हारेको बदला लिने मोडमा छ । उक्त खेल हारेको कारण नेपालले विश्वकप खेल्ने अवसर गुमाएको थियो । उक्त खेलमा यूएईले नेपाललाई ६८ रनले हराउँदै टी–२० विश्वकपमा पुगेको थियो । जारी लिगमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!