एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि एकैदिन तीन कीर्तिमानी

Posted on: 25 Mar, 2022

चैत ११, काठमाडौं । मध्यक्रमका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकैदिन तीन कीर्तिमान बनाएका छन् ।

त्रिवि मैदानमा पपुवा न्युगिनी (पीएनजी) दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं नम्बरमा ब्याटिङमा आएका रोहितले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै इनिङमा सर्वाधिक रन र एकदिवसीय अन्तराष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।

रोहित मैदान प्रवेश गर्दा नेपालको स्कोर ४३/३ मा थियो । नेपाली टोली दबावमा रहेको अवस्थामा पनि रोहितले क्रिजमा जमेर ब्याटिङ गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर बने ।

उनले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको कीर्तिमानलाई आफ्नो नाममा सारेका हुन् । ज्ञानेन्द्रले १९ इनिङ्समा ४८० रन बनाएका थिए ।

रोहितले आरिफ शेखसँग मिलेर पाँचौं विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै रेकर्ड बनाए । ३५.१ ओभरमा आरिफ ३४ रनमा आउट हुनुअघि यी दुईले एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको सर्बाधिक रनको साझेदारी गरेका हुन् । यसअघि सन् २०२१ को सेप्टेम्बर १९ मा विश्वकप लिग टू अन्तर्गत ओमानविरुद्ध आसिफ शेख र ज्ञानेन्द्र मल्लले ९५ रनको साझेदारी गरेका थिए ।

रोहितले ३९.५ ओभरमा एकदिवसीय अन्तर्राष्ट्रियमा ९१ बलको सामना गर्दै पहिलो शतक प्रहार गरे । उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए । यसअघि नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पारस खड्का मात्र एक्ला क्रिकेटर थिए । उनले २८ जनवरी २०१९ मा युएईविरुद्ध ११५ रन बनाएका थिए ।

रोहितले शुक्रबार पारसको त्यही सर्वाधिक रनको कीर्तिमान आफ्नो नाममा सारेका हुन् । ४५.२ ओभरमा उत्कृष्ट क्याच आउट हुनुअघि रोहितले १०७ बलमा ७ चौका र ४ छक्कासहित १२६ रनको शानदार पारी खेले । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!