सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमको साथ

Posted on: 06 Apr, 2022

 चैत्र २३, काठमाडौं | "एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ " मा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम जोडिएको छ । धनगढीमा रहेको गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विधा प्रायोजन गरेर साथ दिएको हो । अवार्डका आठ वटा विधामध्येको स्पेशल अवार्ड विधालाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेर साथ दिएको हो । 

प्रायोजनसम्बन्धी सम्झौता पत्रमा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमका तर्फबाट डाक्टर निराजनदत्त शर्मा पौडेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष हरि जोशीले हस्ताक्षर गरे । 

सम्झौतापछि प्रतिक्रिया दिँदै डाक्टर निराजनदत्त शर्मा पौडेलले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए । 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । तेस्रो संस्करणको मुख्य प्रबर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छ ।  प्रबर्द्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् छन् । त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाडाैँकाे मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । 

वर्ष युवा खेलाडीलाई निर्ग अस्पताल, वर्ष प्रशिक्षकलाई सारथि अस्पताल र सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । यस्तै अवार्डको सहप्रायोजकमा केल्मी र नवजीवन को-अपरेटिभ्स  छ । 

विभिन्न आठ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!