सूर्योदयमा पहिलो "माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज" हुँदै

Posted on: 10 Apr, 2022

चैत्र २७, इलाम | इलामको सूर्योदय नगरपालिकामा आगामी बैशाखमा पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज हुने भएको छ । ११ किलाेमिटर दुरीमा हुने प्रतियाेिगता ३० बैशाखमा हुने आयाेजकले जनाएकाे छ । प्रतिस्पर्धाका विजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछन् । प्रतिस्पर्धामा ३० वर्ष वा सोभन्दा बढी उमेर समूहकाले सहभागीता जनाउन सक्नेछन् । हालसम्म इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका ५० जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको आयोजकका अध्यक्ष शरण फागोले जानकारी दिए ।

फिक्कल चोक बजारबाट सुरु हुने प्रतिस्पर्धा नयाँ चोक–केराबारी–आले– सहिद चोक– १० नम्बर वडा कार्यालय–फिक्कल रिङ रोड हुँदै चोक बजारमा पुगेर सकिनेछ । प्रतियोगीतामा सहभागी हुने ज्येष्ठ सदस्यलाई समेत सम्मान गर्ने कार्यक्रम छ ।

स्वास्थ्यको लागि साइक्लिङमा आकर्षित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज कार्यक्रमको आयोजना गरिएको आयोजकका सल्लाहकार युवराज बस्नेत बताउँछन् । बस्नेत सूर्योदय क्षेत्रमा साइक्लिङ गर्ने पुराना मध्येका एक हुन् । उनले यस क्षेत्रमा साइक्लिङको आकर्षण बढ्दै गएको बताए । "पहिले म एक्लै थिए, अहिले १०-१२ जना भएका छौँ," बस्नेतले भने, "यो कार्यक्रमपछि बढ्दै जान्छ भन्न आशा छ, अब कम्तीमा २० जना जति हुनुपर्याे ।"

पर्यटकीय नगरीको रुपमा परिचित सूर्योदयमा कोरोना माहामारीपछि खासै पर्यटकीय गतिविधि हुन सकेको छैन । प्रतियोगीताले खस्केको पर्यटनलाई उकास्न योगदान गर्ने आयोजकको अपेक्षा छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!