नेपाल र जिम्बाब्बेबीचको टी-२० शृंखला बराबर

Posted on: 04 May, 2022

वैशाख २१, काठमाडौं | ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाब्बे ए लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० शृंखला बराबरी गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे । 

नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । उनले ५४ बलमा १३ चौका र एक छक्कासहित सर्वाधिक ८७ रनको अविजित इनिङ खेले । 


आसिफले अर्का ओपनर आसिफ शेखसँग ८८ रनको साझेदारी गरेका थिए । कुशल ३४ रनमा आउट भए । उनले २६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । बासिर अहमद १० रनमा पभेलियन फर्किए । 

जिम्बाब्बे ए को वलिङमा ल्युक जोङवे र ब्रान्डन माभुता ले समान एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनको योगफल तयार पार्यो । 

जिम्बावे ए का लागि चौथो नम्बरमा क्रिजमा आएका रोय कियाले सर्वाधिक ४९ रनको योगदान गरे । उनले ४१ बल खेल्दै ७ चौका प्रहार गरे । ओपनर टाडीवान्से मारुमानी २७ तथा अर्का ओपनर इनोसेन्ट किया १४ रन बनाएर पभेलियन फर्किएका थिए । 

कुडाजाई माउन्जे ६ रनमा आउट भए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान टोनी मुयोङगा २ रनमा क्याच आउट भए । ल्युक जोङ्वे २३ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । 

नेपालको वलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । उनले ४  ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।

आइतबारदेखि सुरु भएका टी-२० सिरिजमा नेपालले पहिलो खेल जिम्बाब्बे ए सँग ६ विकेटले हारेको थियो । दोस्रोे खेल वर्षाका कारण रद्द भएपछि नेपालले जिम्बाब्बे ए सँग अंक बाँडेको थियो । 

तीन खेलको शृंखलामा बुधबारको खेल नेपालले जितेपछि दुवै टोलीको तीन तीन अंक भएसँगै शृंखला  बराबरी भएको हो । 

जिम्बाब्बे ए सँगको एकदिवसिय शृंखला शुक्रबारदेखि सुरु हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!