ओमानविरुद्ध ‘फेरि हारको कारण खराब ब्याटिङ’

Posted on: 10 Jun, 2022

जेठ २७, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्ध खराब ब्याटिङको कारण हार व्यहोर्न बाध्य भएको बताएका छन् । शुक्रबार बिहान समाप्त भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।

खेलपछि प्रतिक्रिया दिँदै कप्तान सन्दीपले भने, ‘हारको कारण ब्याटिङ नै हो । हामी कुनै पनि पनि समय सम्मालिएर खेल्न सकेनौं ।’ 

यसअघि नेपालले दुई ओपनर घाइते भए पनि सुवास खकुरेललाई अमेरिका बोलाएको थियो । उनीसमेत पहिलो खेलमा चल्न सकेनन् । नेपालको ब्याटिङमा पुनः ओपनिङ जोडी चल्न सकेनन् । नेपालले ४० रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो ।

अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट रंगशालामा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ४ ओभरमा सबै विकेट गुमाउनुअघि १९८ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ सेखले सर्वाधिक ६६ रन बनाए । यसबाहेक देव खनालले ३४, रोहित पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४ र सोमपाल कामीले १३ रन बनाए ।

ओमानका जिसन मक्सुद र खवर अलीले समान तीन विकेट लिए । यस्तै, विलाल खानले दुई विकेट लिँदा अयान खानको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।

ओमानका कप्तान मक्सुदले सतकीय इनिङ खेलेका थिए । अविजित १०४ बनाएका मक्सुदले १२६ बलमा १२ चौका प्रहार गरे ।

यस्तै, खवर अलीले ३०, सोएब खानले २७ र सुरज कुमारले टिमको खातामा १२ रन जोडे ।

नेपालका करण केसीले सर्वाधिक पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका करणले ३८ रन खर्चिएका थिए । यसबाहेक कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए ।

कप्तान सन्दीपले अन्तिम १० ओभर समेत नेपाली फिल्डिङ सफल  हुन नसकेको बताए । ‘हामी ओमानलाई २०० कटाउन नदिने अवस्थामा थियौं । तर, त्यो सफल हुन सकेन,’ उनले भने ।

जितसँगै लिग २ को शीर्ष स्थानमा रहेको ओमानले ३४ खेलबाट ४२ अंक जोडेको छ । तालिकाका छैटौं स्थानमा रहेको नेपालले १३ खेलबाट १२ अंक जोडेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!