इन्डोनेसियासँगको फराकिलो हारपछि अल्मुताइरी भन्छन्– सबै दोष मेरो हो, खेलाडीलाई दोष नदिनु

Posted on: 15 Jun, 2022

असार १, काठमाडौँ | इन्डोनेसियासँगको फराकिलो हारसँगै नेपालले मंगलबार राति एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताको अन्त्य गरेको छ ।

अंकविहीन रहेर प्रतियोगिताको अन्त्य गरेपछि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हारको सबै दोष आफ्नो रहेको र खेलाडीलाई दोष नदिनु भन्ने पुरानै भनाइ दोहोर्‍याएका छन् । अल्मुताइरीले प्रत्येक खेलपछि नियमित रूपमा भन्ने डायलग हो यो । त्यो गए राति पनि दोहोर्‍याए ।


‘प्रिय नेपाली समर्थक.... हाम्रो एसियन कप २०२२ छनोट प्रतियोगिताको यात्रा समाप्त भएको छ । यसमा हामीले केही सकारात्मक र केही कमजोरीहरू भेट्टाएका छौँ, त्यो सेप्टेम्बरमा हुने अर्को मैत्रीपूर्ण खेलअघि सुधार गर्नुपर्छ,’’ अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘म चाहन्छु, सबै दोष मलाई दिनु । खेलाडीहरूलाई दोष नदिनुहोस् ।’’

कुवेतमा सम्पन्न प्रतियोगितामा नेपाल गए राति इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । सुमन अर्यालले दोस्रो पहेँलो कार्डको सामना गरेपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ ले हारेको थियो ।

कुवेतविरुद्धको खेलमा अल्मुताइरी मैदानमा ढलेका थिए । तर, उनी के भएर ढलेको भनेर अखिल नेपाल फुटबल संघ (एन्फा) र उनी स्वयंले केही खुलाएका छैनन् । मैदानमा प्राथमिक उपचारपछि उनलाई अक्सिजन दिएर अस्पताल लगिएको थियो । अस्पतालबाट उनी भोलिपल्टै डिस्चार्ज भएका थिए ।

प्रतियोगिताअघि अल्मुताइरीले ‘तानासाह व्यहार गरेर आफूलाई निकालेको’ भन्दै राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । खेलाडीको पक्षमा नियमित कप्तान एवं गोलकिपर किरण चेम्जोङ र अर्का गोलकिपर विकेश कुथुले पनि साथ दिएका थिए ।

त्यसपछि अल्मुताइरीले किरण, रोहित चन्द, विकेश, अञ्जान विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, तेज तामाङ, सुमन लामालाई बाहिर राख्दै टिम बनाएका थिए । त्यही टिमले कुवेतमा प्रतिस्पर्धा गरेको हो । कुवेतमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए । अन्तिम खेलमा नवयुगलाई बेन्चमा राख्दै पुजन उपरकोटीलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!