अस्मिनाको उत्कृष्ट बलिङ, नेपाललाई एसिया कपमा स्थान बनाउन ८२ को लक्ष्य

Posted on: 24 Jun, 2022

असार १०, काठमाडौं | एसीसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा  संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

शुक्रबार मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनायो।

यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् ।  इशा रोहितले १५ रन, छाया मुघलले १४ रन तथा खुसी शर्मा १२ रनको योगदान गरिन् । 

नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । अन्तिम समय अश्मिना ह्याट्रिक नजिक रहेकी थिइन् ।  यस्तै  इन्दु बर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।


नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ ।  प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् । 

नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । 

यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो । 

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!