भारतसँग नेपालको लज्जास्पद हार, ८-० ले पराजित

Posted on: 31 Jul, 2022

साउन १५, काठमाडौँ । साफ यू२० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो र लज्जास्पद हार‌ हो ।

लगातार दुई खेल जितेको नेपाललाई भारतले पहिलो हाफमा १ गोल गरेर अग्रता लिएको थियो । नेपालले दोश्रो हाफमा झनै खराब पर्दर्शन गर्दा एकोहोरो भारतको पक्षमा खेल गयो । दोश्रो हाफमा भारतले ७ गोल थप्यो । 

भारतको घरेलु मैदानमा भएको खेलमा भारतले नेपाललाइ गोल गर्ने अवसरनै दिएन । भारतले खेलको ३२ अ‍ौं मिनेटमा टाइसन सिंह लोइटङबमको गोलमा अग्रता लिएको थियो । 

दोस्रो हाफको सुरुवातमै भारतले लगातार गोल गर्दै अग्रता बढायो । खेलमा भारतका पार्थिव गोगोइले ५२ अ‍ौं मिनेटमा दोश्रो गोल गरे । त्यसको एक मिनेट पछि पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-० को अग्रतामा लगे ।

त्यस्तै खेलको ६२ अ‍ौं मिनेटमा पाथुप गिमानाले गोल गर्दैै भारतलाई ४-० ले अग्रता दिलाए । खेलको ७१ अ‍ौं मिनेटमा भारतले पेनाल्टी पाएर ५ औं गोल गर्यो । त्यस्तै मोहमद रिकाजले ७८ अ‍ौं मिनेटमा गोल गर्दै भारतको खातामा ६ गोल जम्मा गरे । त्यस्तै गुर्किरत सिंहले ८९ अ‍ौं मिनेटमा गोल गर्दै ७-० बनाए भने सुभो पलले इन्जुरी समयमा गोल गर्दै ८-० बनाए । यसरी नेपालले भारतबिरुद्धको खेलमा ८-० को लज्जास्पद हार व्यहोर्न पुग्यो । 

यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ भने भारत दोश्रो स्थानमा उक्लिएको छ । नेपाल र भारतको समान ३ खेलमा दुई/दुई खेल जित्दै ६/६ अंक भएपनि हेड टु हेडमा भारत अगाडी । १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ‌‌। 

अब मंगलबार हुने खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्सको सामना गर्दैछ । फाइनल खेल शुक्रबार हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!