बंगलादेशलाई शेख रसेल कप चेसको उपाधि, नेपाल तेस्रो स्थानमा

Posted on: 21 Oct, 2022

कात्तिक ४, काठमाडौँ | शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ । बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो । 

समान तीन-तीन म्याच प्वाईन्ट बनाएको श्रीलंकालाई गेम प्वाईन्टमा पछि पारेको बंगलादेशले ४ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो स्थानमा रहन सफल श्रीलंकाले ३ हजार अमेरिकी डलर पाउँदा तेस्रो भएको नेपालले २ हजार अमेरिकी डलर हात पारेको छ । लिग चरणमा चौथो स्थानमा रहेको पाकिस्तानले नगद १ हजार अमेरिकी डलर पुरस्कार हासिल गरेको छ ।

बंगलादेशको राजधानी ढाकामा गत अक्टोबर १२ देखि शुरु भएको च्याम्पियनशीपमा नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानको सहभागिता थियो । राउण्ड रोविन प्रणालिबाट अंकतालिकाको शीर्ष स्थानमा रहन सफल ३ टोलि सुपर लिगमा प्रवेश गरेका थिए । नेपाली टिम सुपर लिगका दुबै खेलमा पराजय व्यहोर्न पुग्यो । च्याम्पियनशीपको अन्तिम खेलमा बंगलादेशले नेपालविरुद्ध ३ ग्रान्डमास्टर र १ ईन्टरनेशनलमास्टरलाई प्रतिष्पर्धा गराएको थियो । 

पहिलो बोर्डमा ग्रान्डमास्टर ईनामुल हुसेनले नेपाली फिडेमास्टर रिजेन्द्र राजभण्डारीलाई हराए । दोस्रो बोर्डमा बिलमलाल श्रेष्ठलाई अर्का ग्रान्डमास्टर जिउर रहमानले पराजित गरे । तेश्रो बोर्डमा खेलेका सिंगेश्वर दासलाई ग्रान्डमास्टर नियाज मुर्सीदले हार चखाए भने चौथो बोर्डमा प्रतिष्पर्धा गरेका राजेन्द्र बज्राचार्य बंगलादेशी ईन्टरनेशनलमास्टर मोहमद फहाद रहमानसँग अंक गुमाउन पुगे ।

व्यक्तिगत विधातर्फ पहिलो बोर्डमा रिजेन्द्र, दोश्रो बोर्डमा बिलमलाल र तेश्रो बोर्डतर्फ सिंगेश्वर दासले काँस्य पदक प्राप्त गरे । ६ सदस्यीय नेपाली टोली शुक्रबार स्वदेश फर्किने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!