यूएईलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा पहिलो पटक शृंखला जित्न सफल

Posted on: 18 Nov, 2022

मंसिर २, काठमाडौँ | आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको छ । नेपालले १ सय ७७ रनको लक्ष्य ४०.१ ओभरमा पुरा गर्‍यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो एकदिवसीय खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले श्रृङ्खला जितेको हो। तीन खेलको श्रृङ्खलामा नेपालले दुई खेल जित्यो। पहिलो खेल भने यूएईले जितेको थियो।


शुक्रबार यूएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको छ। नेपालका लागि आशिफ शेखले ८८, ज्ञानेन्द्र मल्लले ६४ रन, रोहित पौडेलले १० र अर्जुन साउँदले नौ रन बनाए।

यूएईका लागि हजरत बिलाल र आयन अफ्जल खानले एक-एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले राम्रो शुरूआत गर्न सकेन। नौ विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो।

यूएईका लागि आयान अफ्जल खानले अर्धशतक प्रहार गरे। उनले अन्तिम विकेटका लागि हजरत बिलालसँग ८३ रनको साझेदारी गरे।

यो अन्तिम विकेटका लागि भएको चौथो ठूलो साझेदारी हो। बिलालले २० रन बनाए।

त्यस्तै, नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले दुई-दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!