मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिनाको जित

Posted on: 27 Nov, 2022

मङ्सिर ११, काठमाडौँ । अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको छ । दोस्रो हाफमा कप्तान लिओनेल मेस्सी र एन्जो फर्नान्डेजले गरेको गोलमा अर्जेन्टिनाले २-० को जित हासिल गरेको हो ।


कतारको लुसेल रंगशालामा भएको पहिलो हाफमा अर्जेन्टिनालाई गोल रहित बराबरीमा रोकेको मेक्सिकोले दोश्रो हाफको खेलमा रोक्न सकेन । मेक्सिकोविरुद्ध निरन्तर काउन्टर अट्याक गरेको अर्जेन्टिनाले केहि सम्भावित अवसर गुमायो । जसमा  मेक्सिकोको दबाब खेप्नुपरेको थियो । दोस्रो हाफमा भने मिडफिल्ड र विंगब्याकमा परिवर्तन गरेर अर्जेन्टिनाले खेलमा फर्किने रणनीति बनायो । त्यसपछि अर्जेन्टिना खेलमा फर्कियो । दोश्रो हाफमा कप्तान मेस्सीले ६४ औं मिनेटमा गोल गरे । त्यसपछि खेलको ८७ औं मिनेटमा एन्जो फर्नान्डेजको आकर्षक प्रहारमा दोस्रो गोल थप्दै नकआउट चरण पुग्ने समीकरणमा आफूलाई बलियो बनायो । दोश्रो गोलको लागि बेन्चबाट मैदान पस्दै मिडफिल्ड चलायमान बनाएका एन्जो फर्नान्डेजले मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र लिएपछि डिफेन्डरलाई छक्याएर प्रहार गर्दा गोलरक्षक ओचोआले बचाउन सकेनन् ।

आजको खेलमा जितेसंगै अर्जेन्टिना समूह सी मा ३ अंकसहित दोस्रो स्थानमा छ । पोल्यान्ड ४ अंक जोड्दै शीर्षस्थानमा छ । यस अघि अर्जेन्टिनालाई पराजित गरेको साउदी अरेबिया ३ अंक जोड्दै तेस्रो स्थानमा छ । अर्जेन्टिना र साउदीको समान अंक छ तर गोलको आधारमा साउदी तेश्रोमा झरेको छ । 

अर्जेन्टिनाले विश्वकपको अर्को चरणमा पुग्न अब समूह चरणको अन्तिम खेलमा जित्नुपर्ने हुन्छ । समूह विजेता वा उपविजेता बन्ने समूहको अर्को खेलको नतिजाले टुंगो लाग्नेछ । मेक्सिको र साउदी अरेबियाको खेलको नतिजाले नकआउट पुग्ने र समूह स्थान निर्धारणमा प्रत्यक्ष असर पर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!