विश्वकप फुटबलमा आज चार खेल हुँदै, यी टिमको हुँदै छ भिडन्त

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेल हँुदैछन् । पहिलो खेलमा समूह  ‘जी’ मा रहेको क्यामरुन र सर्वियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार बेहोरेको दुवै टोली पहिलो जितको खोजीमा हुने छ । सर्विया ब्राजिलसँग २–० ले तथा क्यामरुन स्वीट्जरल्यान्ड्ससँग १–० ले पराजित भएको छ । समूह चरण पार गर्न यि दुई टोलीलाई जितको आवश्यक छ । 

त्यसैले दुवै टोली निश्चित जितको लक्ष्यसहित मैदान उत्रनेछ ।

त्यस्तै दोस्रो खेलमा समूह ‘एच’ मा रहेको दक्षिण कोरिया र घानाबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितकै खोजीमा हुनेछ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ ले पराजित हुँदा दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा पाँचपटकको च्याम्पियन ब्राजिल र स्वीट्जरल्यान्डबीच भीडन्त हुनेछ । समूह ‘जी’का  ब्राजिल र स्वीट्जरल्यान्डबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुवै टोली दोस्रो जित निकाल्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । ब्राजिलले पहिलो खेलमा सर्वियालाई २–० ले तथा स्वीसले क्यामरुनलाई १–० ले हराएको थियो । ब्राजिललाई आफ्नाे मुख्य फरवार्ड नेयमारसँगै डिफेन्डर डानिलाेकाे अभाव खड्कन सक्नेछ ।

त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह‘एच’का पोर्चुगल र उरुग्वे सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहँद उरुग्वे पहिलो जित निकाल्ने लक्ष्यमा छ । पोर्चुगलले पहिलो खेलमा घानालाई हराउँदा उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!