आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

Posted on: 04 Dec, 2022

मङ्सिर १८, काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।

नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो ।

स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई पराजित गरेको थियो । नेपाल स्कटल्याण्डको त्यो लयलाई रोक्न चाहन्छ ।

नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टु खेलिरहेको छ । पहिलो खेलमा नेपालले आफ्नो इनिङ्स पूरै ब्याटिङ गर्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाउनु बाहेक अन्य ब्याटरले राम्रो खेल्न सकेनन् । वर्षाले खेल प्रभावित बन्दा नेपालले बलिङ गरेन । त्यसैले स्कटल्याण्ड विरुद्ध खेल्दा नेपालको बलिङ पनि परीक्षण हुनेछ ।

टिममा रहेका १४ मध्ये पहिलो खेलमा करण केसी, हरिशंकर शाह र नन्दन यादव बेन्चमा थिए । दोस्रो खेल कन्डिसन अनुसार नेपाली टिममा परिवर्तन हुन सक्छ । यस्तै ब्याटिङ अर्डरमा पनि परिवर्तन हुने सम्भावना छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!