एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीको ५० विकेट पूरा

Posted on: 07 Dec, 2022

मङ्सिर २१, काठमाडौँ | नेपाली तीव्र गतिका बलर सोमपाल कामीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिवियासँग अहिले भइरहेको खेलमा २ विकेट लिएसँगै सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको ५० विकेट पूरा गरेका हुन् ।


नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि सन् २०१८ को अगष्टमा पहिलोपल्ट नेदरल्याण्ड्ससँग शृंखला खेलेको थियो । त्यसयता ३० इनिङ्समा सोमपालले यो उपलब्धि हासिल गरेका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने सोमपाल नेपालका दोस्रो खेलाडी हुन् । यसअघि पूर्वकप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६९ विकेट लिएका छन् ।

सन् २०१९ को जनवरी २६ मा युएईसँगको शृंखलाका क्रममा सोमपालले ६.३ ओभर बलिङ गरी १ मेडन राख्दै ३३ रन खर्चेर ५ विकेट लिएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो उत्कृष्ट प्रदर्शन हो । सन् २०१४ देखि नेपालको राष्ट्रिय टिमबाट खेलिरहेका सोमपालले टी-२० अन्तर्राष्ट्रियमा ३८ विकेट लिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!