सेमिफाइनलमा ब्राजिल-अर्जेन्टिना प्रतिस्पर्धा होला ?

Posted on: 08 Dec, 2022

मङ्सिर २२, काठमाडौँ | ब्राजिल र अर्जेन्टिना ल्याटिन अमेरिकाका मात्र नभएर विश्वक फुटबलकै दुई चर्चित टिम हुन् । यी दुई टिम एक आपसमा खेलेको हेर्ने रहर सबै फुटबलप्रेमीलाई हुन्छ ।

अहिले कतारमा फिफा विश्वकप २०२२ भइरहेको छ । जहाँ यी दुई टिम क्वार्टरफाइनलसम्म पुगिसकेका छन् र सेमिफाइनलमा भेट हुने सम्भावना समेत छ ।


लिओनल मेसीको अर्जेन्टिना र नेमारको ब्राजिलबीचको खेलको धेरैले प्रतीक्षा गरेका छन् । समूह चरणमा दुवै टिम विजेता बनेकाले पनि दुवै टिम फाइनल अघि नै भेट्ने सम्भावना बनेको हो ।

हुन त विश्व फुटबलका यी दुई पावर हाउस गत वर्ष मात्रै कोपा अमेरिकामा भिडेका थिए । जहाँ अर्जेन्टिनाले ब्राजिललाई उसैको ऐतिहासिक मैदान माराकानामा १-० ले हराएर उपधि जितेको थियो ।

अहिले विश्वकप जित्ने दाबेदारहरुको सूचीमा ब्राजिल र अर्जेन्टिनाकै नाम छ । यदि यी दुई टिम सेमिफाइनलमै भेट भए पनि एक टिम मात्र फाइनल पुग्नेछ भने अर्को टिम घर फर्कनेछ । अर्थात एक टिमको समर्थक उत्साहित बन्दा अर्को टिमको समर्थक पनि निराश हुनेछ ।

दुबै टिमले क्वार्टरफाइनलमा आआफ्ना खेल जितेमा उनीहरुको भेट सेमिफाइनलमा हुनेछ । त्यसको टुङ्गो आउने शुक्रबार लाग्नेछ ।

पहिलो क्वार्टरफाइनलमा ब्राजिलले क्रोएसियाँग खदेल्नेछ भने दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । यी दुईको विजेता आउने मंगलबार पहिलो सेमिफाइनल खेल्नेछन् ।

समूह सी मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग अप्रत्याशित हारबाट विश्वकप सुरुवात गरेको थियो । तर त्यसपछि समूहका दुवै खेलमा मेक्सिको र पोल्याण्डलाई समान २-० ले हराएर समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । जहाँ अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले पराजित गरेको थियो ।

उता ब्राजिलले सर्बियालाई २-० र स्वीजरल्याण्डलाई १-० ले हराएर समूहको एक खेल अगावै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । समह जीको अन्तिम खेलमा क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेता बनेर नकआउट चरणमा पुग्‍यो । जहाँ ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले सहजै हरायो ।

३२ वर्षअघिको त्यो खेल

ब्राजिल र अर्जेन्टिना विश्वकपमा पछिल्लो पटक १९९० मा एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि अहिलेसम्म विश्वकपमा यी दुई टिमबीच भेट भएको छैन । दुवैले क्वार्टरफाइनल खेल जितेमा विश्वकप फुटबलकै एक प्रतिक्षित खेल सेमिफाइनलमै हेर्न पाइनेछ ।

विश्वकपको ९२ वर्षे इतिहासमा यी दुई टिम अहिलेसम्म जम्मा चार पटक मात्र भिडेका छन् । जसमा ब्राजिलले दुई खेल जित्दा अर्जेन्टिनाले एक खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । ब्राजिलले ५ र अर्जेन्टिनाले ३ गोल गरेका छन् ।

तर यी सबै चार भेट १९७४ र १९९० को बीचमा भएको थियो । १९९० मा भएको पछिल्लो भेटमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको थियो । अन्तिम १६ को उक्त खेलमा अर्जेन्टिनालाई जित दिलाउन क्लाउडियो कानिजियाले ८१औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

अर्जेन्टिना त्यस विश्वकपको फाइनलसम्म पुगेको थियो तर पश्चिम जर्मनीसँग पेनाल्टी गोलमा १-० ले पराजित हुँदा अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्नबाट बन्चित भएको थियो ।

त्यसअघि १९७४ को विश्वकपमा ब्राजिलले अर्जेन्टिनालाई २-१ ले पारजित गरेको थियो भने १९७८ मा दुई टोलीले गोलरहित बराबरी खेलेका थिए । १९८२ मा ब्राजिलले अर्जेन्टिनालाई ३-१ ले पराजित गरेको थियो ।

ब्राजिल र अर्जेन्टिनाले विश्वकप नजितेको पनि धेरै वर्ष भइसकेको छ । ब्राजिलले सन् २००२ पछि विश्वकप जितेको छैन । यसवर्ष ब्राजिल २० वर्षदेखिको विश्वकपको उपाधि खडेरी तोड्ने लक्ष्यमा छ । उता अर्जेन्टिनाले त विश्वकप नजितेको ३६ वर्ष भइसकेको छ । सन् १९८६ मा डिएगो म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!