राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

Posted on: 15 Dec, 2022

मङ्सिर २९, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । उनले बिहीबारदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको पुष्टि गरेको छ ।


नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ ।

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि यसै वर्षको साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षक नियुक्त गरिएका थिए । प्रभाकरको प्रशिक्षणमा नेपालले हालै नामिबियमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतका तीन खेल खेलेको थियो ।

नेपाल सबै खेलमा पराजित भएको थियो भने एक खेल वर्षका कारण रद्द भएको थियो । यससँगै नेपालको विश्व क्रिकट लिग डिभिजन–२ को तालिकाको शीर्ष ३ भित्र रहन कठिन भएको छ । सात राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!