पोर्चुगलका सर्वाधिक सफल प्रशिक्षक सान्तोसले पद छाडे

Posted on: 16 Dec, 2022

पुस १, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबलमा सोचेजस्तो सफलता हासिल नगगरेपछि पोर्चुगलका सर्वाधिक सफल प्रशिक्षक फर्नान्डो सान्तोसले पद छाडेका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएको पोर्चुगिज फुटबल संघले जनाएको छ।

विश्वकपको अन्तिम १६ र क्वार्टरफाइनलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि कतिपयले सान्तोसको चर्को आलोचना गरेका थिए। यसअघि भने लयमा नरहेका रोनाल्डोलाई सुरुवाती ११ मा खेलाउन नहुने अधिकांश पोर्चुगिजको धारणा रहेको  एक सर्बेक्षणले देखाएको थियो। तर, पहिलोपटक क्वार्टरफाइनल पुगेको मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोसको आलोचना गर्ने धेरै देखिए।

मुख्य प्रशिक्षकका रुपमा आठ वर्ष बिताएका सान्तोस पोर्चुगल राष्ट्रिय टोलीका सर्वाधिक सफल प्रशिक्षक हुन्।उनकै नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरोकप जितेको थियो। पोर्चुगलले जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। त्यसपछि फेरि सान्तोसले पोर्चुगललाई दोस्रो उपाधि दिलाए। सन् २०१९ मा पोर्चुगलले घरमै पहिलो संस्करणको नेसन्स लिगको उपाधि जितेको थियो।

पोर्चुगिज फुटबल संघले सान्तोससँग सन् २०२४ मा हुने युरोकपसम्मका लागि सम्झौता गरेको थियो। तर, अहिले उनलाई राजीनामा दिन संघले नै दबाब दिएको बताइएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!