विश्वकप फाइनलबारे हाडाको विश्लेषण : समर्थकका भावना फरक पक्ष, खेल हेर्दा फ्रान्स बलियो छ

Posted on: 18 Dec, 2022

पुस ३, काठमाडौँ | फिफा विश्वकप अन्तर्गत आज बेलुकी फ्रान्स र अर्जेन्टिना आमनेसामने हुँदैछन्। मेस्सी नेतृत्वको अर्जेन्टिना र साविक विजेता फ्रान्स आफ्नो तेस्रो उपाधिको खोजीमा छन्।

कतारमा जारी विश्वकपको माहोलबाट नेपाल पनि अछुतो छैन। नेपालमा पनि धेरै जसो अर्जेन्टिना र बाँकी फ्रान्सको पक्षमा समर्थकहरु बाँडिएका छन्। सबैको आआफ्नै तर्क छ, विश्लेषण छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक मिलन हाडा पहिल्यैबाट इङ्ग्ल्याण्डका प्रशंसक हुन्। उनले समर्थन गरेको टोली फ्रान्ससँग पराजित हुँदै बाहिरिसकेको छ। जारी विश्वकपमा अगाडिका खेलहरु प्रत्यक्ष प्रसारण र रातिका खेलहरुको पुन:प्रशारण हेरेको उनले सुनाए। फाइनल खेलको कुरा गर्दा उनी अर्जेन्टिनाको तुलनामा फ्रान्स दर्बिलो देख्छन्।


'उ भन्दा राम्रो खेलेको टोलीलाई पनि जित्न सक्ने खुबी हो फ्रान्सको। गेम त इङ्ग्ल्याण्डको राम्रो थियो। फ्रान्सको गोल भयो, उसको भएन। खेल त ६०/४० को थियो, ' हाडाले भने, ' फ्रान्सको बलियो पक्ष मिडफिल्डको पोजिसनिङ राम्रो लाग्छ। बल पुग्ने बेलामा टक्क सेट भएको हुन्छ।'

फ्रान्सको टोलीका खेलाडीमध्ये सबै नजर रहन्छ किलियन एम्बाप्पेमाथि। हुन पनि जारी विश्वकपमा ५ गोल गरेका उनी अर्जेन्टिनी कप्तान लियोनल मेस्सीसँग संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन्।

'एम्बाप्पेको 'विद बल स्पीड' मान्नै पर्ने हो। म्याराडोनाको भन्दा फास्ट छ। उसको कन्फिडेन्स धेरै राम्रो। उसको कन्फिडेन्सले नै फ्रान्सले डोमिनेट गर्ने गर्छ,' हाडाले भने, 'एम्बाप्पे एकदम चलाख खेलाडी छ। उसको अनुहार सोझो जस्तो छ तर साह्रै चलाख छ। खेल्दाखेल्दै कसलाई डोमिनेट गर्ने भनेर बुझिसकेको हुन्छ। स्पीडमा बल लग्यो। रोक्यो। ड्रिबल गरेजस्तो गरेर उसले बल कहाँकहाँ फालेको छ हेर्नुहोस् न। ऊ भन्दा पनि उसले गर्ने मोमेन्टहरुलाई हेर्नुहोस् न।'

उनले थपे : अहिलेसम्मको खेल हेर्दा अर्जेन्टिना भन्दा फ्रान्स बलियो छ।

सर्वकालीन महान खेलाडीको सूचीमा अगाडि आउन मेस्सीलाई आजको खेलमा जित आवश्यक छ। त्यसैले धेरै फुटबल समर्थकको चाहना छ मेस्सीले एकपटक विश्वकप जितुन्। मानिसहरुको भावना बुझेका फ्रेन्च प्रशिक्षक आफ्नो टिमको लक्ष्य प्राप्तिका लागि लड्ने बताउँछन्।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले आफ्नो देशलाई १९९८ मा विश्वकप जिताउन कप्तानी गरेका थिए। त्यसपछि प्रशिक्षकको रूपमा पनि चार वर्षअघि रसियामा विश्वकप उपाधि दिलाउँदै अर्को सफलता दिलाएका थिए।

‘म अर्जेन्टिनालाई राम्ररी जान्दछु। संसारभरका धेरै मानिसहरु र सायद केही फ्रेन्च मानिसहरु पनि मेस्सीले विश्वकप उचालेको हेर्न चाहन्छन्। तर, हामी हाम्रो उद्देश्य पूरा गर्न हामीले सक्ने सबैथोक गर्न तयार छौँ,’ उनले भनेका छन्।

हाडा पनि यसविषयमा स्पष्ट छन्। मेस्सीले जादु देखाउन सके एउटा कुरा भए पनि फ्रान्सलाई कमजोर आँक्न नसकिने उनको तर्क छ।

'भावनाका कुराहरु आफ्नो ठाउँमा होलान् तर अहिलेसम्मको खेल हेर्दा बलियो चाहिँ फ्रान्स हो, मेस्सीले कुनै जादु देखाए फ्रान्सलाई पनि गाह्रो पर्न सक्छ,' उनले भने, 'फ्रान्ससँग बढी सन्तुलित टिम छ।'

खेलको रणनीति मैदानमा खेलको अवस्था हेरि बनाउनु पर्ने भएकाले पनि खेलको नतिजा त्यसैमा निर्भर हुने बताउँछन् उनी। अर्कोतर्फ अर्जेन्टिनाको प्रशिक्षकको जिम्मेवारी पाउँदा अनुभवबिनै ठूलो अवसर पाएको भनेर आलोचना ब्यहोरेका अर्जन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले टोलीलाई फाइनलमा पुर्‍याएर आलोचकको मुख थुन्न सफल भएका छन्। हाल विश्वकपका चलाख प्रशिक्षक भनेर उनको चर्चा चलिरहेको छ। तर, हाडा त्यसमा सहमत छैनन्।

'टिम जित्दै गएपछि कोचको कुरा आउँछ। टिम हारिदियो भने आलोचना भइहाल्छ। तालमेल चाहिन्छ। कम्बिनेसन चाहिँ राम्रो छ उनीहरुको,' उनले भने, 'बाहिरबाट कराए जस्तो सबै हुँदैन। बल, विपक्षी खेलाडी र रेफ्री त आफूले भनेजस्तो हुन्न।'

फ्रान्सबारे उनले देखेको अर्को पक्ष हो 'डिसब्यालेन्स' गर्ने खेल। युरोपेली टोलीहरुको खेल यसपाला त्यो लयमा देखेका छन् उनले।

'युरोपका टिमको मैले के देखेँ भने गोलकिपरलाई छलाएर भन्दा पनि मिडफिल्डसम्मै डिसब्यालेन्स गर्ने गरेको देखियो। पोल्याण्ड, स्वीजरल्याण्ड, क्रोएसियामा धेरै देखेँ यो। विपक्षीको सन्तुलन बिगार्दिने,' उनले भने।

फ्रान्स र अर्जेन्टिना आज बेलुकी पौने ९ बजे कतारको दोहास्थित लुसइल स्टेडियममा उपाधिका लागि भिड्नेछन्। अर्जेन्टिनाको यो छैटौं विश्वकप फाइनल हो। यसअघि सन् १९७८ र १९८६ मा अर्जेन्टिना विजेता भएको थियो भने १९३०, १९९० र २०१४ को विश्वकप फाइनलमा पराजित भएको थियो। अर्जेन्टिना जर्मनीपछि सबैभन्दा धेरै पटक विश्वकप फाइनल पुग्ने टोली हो। जर्मनीले ८ पटक विश्वकप फाइनल खेलेको छ। सन् १९९८ यता फ्रान्सले ४ पटक विश्वकप फाइनल खेलेको छ।

फिफा विश्वकपमा यी दुई टोली यसअघि तीन पटक भिडेका छन्। सन् १९३० र १९७८ मा समूह चरणका खेलमा अर्जेन्टिनाले जित निकालेको थियो भने अघिल्लो संस्करणमा फ्रान्सले ४-३ गोलअन्तरले हराउँदा अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!