फ्रान्सका फरवार्ड करिम बेन्जमाको सन्‍न्यास

Posted on: 20 Dec, 2022

पुस ५, काठमाडौँ | फ्रान्सका फरवार्ड करिम बेन्जमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर बेन्जमाले कतार विश्वकपको समापनसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्। चोटले पिरोलेपछि उनी विश्वकपबाट बाहिरिएका थिए। 

फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको भोलिपल्ट सामाजिक सञ्जालमा स्टाटस लेख्दै बेन्जमाले अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने निर्णय गरेका हुन्।  ‘अब सकियो। मैले अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याएँ’, ३५ वर्षीय बेन्जमाले सामाजिक सञ्जालमा लेखेका छन्। उनले आफ्नो ३५औं जन्मदिनकै अवसरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।

बेन्जमा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा छन्। बेन्जमाले सन् २००६ मा फ्रान्सको टोलीमा स्थान बनाएका थिए। उनी २००८ र २०१० को युरोसँगै विश्वकप टोलीका पनि सदस्य थिए। बेन्जमाले नेसन्स लिगको दोस्रो लेगमा डेनमार्कविरुद्ध गत जुनमा खेलेको खेल नै अन्तिम बनेको छ। त्यसपछि उनी फ्रान्सको विश्वकप टोलीमा समावेश भए पनि चोटका कारण खेल्नै नपाई बाहिरिएका थिए।

आइतबार अर्जेन्टिनाविरुद्धको फाइनलका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो निजी जेट विमानमा कतार जान आग्रह गरे पनि बेन्जमाले अस्विकार गरेका थिए। उनले सामाजिक सञ्जालमा फ्रान्सको जितका लागि भने शुभकामना दिएका थिए। प्रशिक्षक डिडियर डेस्च्याम्पससँगको खटपटका कारण उनी फाइनल खेल हेर्न कतार नगएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेका छन्।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!