ब्राजिलका महान फुटबलर पेलेको निधन

Posted on: 30 Dec, 2022

पुस १५, काठमाडौँ | ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको हो ।

मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ ।


पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप जिताएका थिए । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका थिए । 

उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!