सङ्कटा फुटबल क्लबले जित्यो आहा रारा गोल्डकपको उपाधि

Posted on: 07 Jan, 2023

पुस २३, पोखरा | २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि सङ्कटा फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको निकै रोमाञ्चक फाइनल खेलमा सङ्कटाले भुटनीज युथमाथि ३-२ गोल अन्तरले जित निकालेको हो । खेल निर्धारित समय २-२ गोलको बराबरीमा सकिएको थियो । अतिरक्त समयमा सङ्कटाले गोल गर्दै खेलमा बाजी मार्‍यो । 

खेलको ८ औँ मिनेटमा सुरज ज्यु ठकुरीले सङ्कटालाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३५औँ मिनेटमा मेसुके ओलोमोउले  गोल गर्दा संकटाकाे अग्रता दोब्बर बनाए । मेसुकेले सुनिल बलको कर्नरलाई गोलमा परिणत गरेका हुन् ।

२-० गोलले पछि परेको खेलमा ३७औँ  मिनेटमा भुटनिज युथका रिनी सान्तिलाेनले गोल गरेपछि खेल २-१ गोलको स्थितमा आएको थियो । यस्तै इन्जुरी समयमा विल ग्रिफिथले भुटनिज युथलाई २-२ काे बराबरीमा ल्याए । 

त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै सङ्कटालाई ३-२ को रोमाञ्चक जित दिलाए । 

उक्त जितसँगै सङ्कटाले दोस्रो पटक आहा राराको उपाधि जितेको हो । यसअघि सङ्कटाले २०७७ सालमा सो उपाधि जितेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!