रियाद अल स्टार्सविरुद्ध पीएसजीको जित, मेसी र रोनाल्डो दुवैले गरे गोल

Posted on: 20 Jan, 2023

माघ ६, काठमाडौँ | स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलित अल स्टार्सलाई ५–४ गोलले हराएको छ ।  

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे ।


खेलको दोस्रो मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए | खेलको ३१ औ मिनेटमा अल स्टार्सले पाएको पेनाल्टीलाई कप्तान रोनाल्डोले सदुपयोग गर्दै ३४ मिनेटमा बराबरी गोल फर्काएका थिए |

खेलको पहिलो हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सीमित बनेको थियो । किलियन एम्बाप्पेको क्रसमा गोल गर्दै मर्किन्योसले ४२ मिनेटमा पुन: पिएसजीलाई अग्रता दिलाएका थिए |


पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दा खेललाई २-२ को बराबरीमा ल्यए | सर्जियो रामोसले ५३ मिनेटमा गोल गर्दा पिएसजीलाई ३-२ को अग्रता दिलाए | त्यसको तीन मिनेट नबित्दै अल स्टार्सका हेयोन सो जाङले गोल गर्दा खेललाई ३-३ बराबरीमा ल्याए | एम्बाप्पेले ६० मिनेटमा पेनाल्टी मार्फत पिएसजीका लागि चौथो गोल गरे | त्यस पछि हुगो इकिटिकीले ७८ मिनेटमा गोल गर्दै पिएसजीलाई ५-३ को अग्रता दिलाए |

खेलको इन्जुरी समयमा अल स्टार्सका एन्डर्सन टालिस्काले गोल गर्दा ५-४ को स्थितिमा ल्याएका थिए | फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ । टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!