सन्दीप लामिछाने पनि सर्वोच्च अदालत जाने तयारीमा

Posted on: 03 Feb, 2023

माघ २०, काठमाडौँ | उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले पनि सर्वोच्च अदालत जाने तयारी गरेका छन् । धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाइएको भन्दै सन्दीप सर्वोच्च जान लागेको उनका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

‘हो, हामी सर्वोच्च अदालत जाने तयारीमा छौं। उच्च अदालतले सन्दीपलाई धेरै धरौटी रकम लिएको र विदेश जानबाट रोकेको छ, खेल्न पाउने एक खेलाडीको हैसियतमा उसको अधिकार हो, त्यसैले हामी सर्वोच्च जान लागेका हौं,’ उनले भने।


सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगिसकेको छ । सुनुवाइका लागि शुक्रबार पहिलो पेसी तोकिएको उक्त पुनरावेदन न्यायाधीश हरि फुयालको इजलासमा परेको छ ।

यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उल्टाउँदै उच्च अदालतले धरौटी तोकेको थियो । सर्वोच्च पुगेको महान्यायधिवक्ता कार्यालयको माग सन्दीपलाई थुनामै राख्नुपर्ने भन्नेछ । कानुन व्यवसायी घिमिरेले २० लाख रूपैयाँ धरौटी र विभिन्न शर्तहरू अन्यायपूर्ण भएको बताए ।

भदौमा गौशालाको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!