महिनावारी सार्ने औषधी कतै तपाईं पनि प्रयोग गर्नुहुन्छ ? उसो भए विज्ञले सुझाएका कुरा बुझ्नुहोस्

Posted on: 18 Jan, 2022

माघ ४, काठमाडौँ | हिन्दु नारीहरुमा रजस्वलालाई धार्मिक दृष्टिकोणबाट अपशकुन मानिन्छ । त्यसैले विशेष पूजा पाठ होस् वा कुनै कार्यक्रम वा यात्रामा जानुपर्ने भयो भने औषधी खाएर आफ्नो महिनावारीको समय  पर सार्न धेरैलाई सही र सजिलो लाग्छ । महिनावारीको समय पछि सार्ने औषधी सहज रुपमा पाइन्छ । यो सेवन गर्न कुनै प्रिस्केप्सनको आवश्यकता पर्दैन । आफूले कतिवटा खाने, आफैंले निर्णय गरेर दिनको हिसाबले यस्ता औषधि किन्ने गरिन्छ । तर यसको सेवनले के के नोक्सानी हुन्छ यस बारेमा भारतकी स्त्रीरोग विशेषज्ञ सृष्टि अग्रवालले बताएकी छिन् ।

औषधीले कसरी रोक्छ महिनावारी ?

स्त्रीरोग विशेषज्ञ डा. सृष्टि अग्रवालका  अनुसार कुनै राम्रो डाक्टरले यस किसिमको औषधी खाने सल्लाह दिँदैनन् । तर आफ्नो योजनामा कुनै किसिमको अवरोध नआओस् भनेर महिलाले यस्तो उपाय अवलम्वन गर्छन् । उनी भन्छिन्, ‘शरीरको आफ्नो एउटा प्रणाली र समय तालिका हुन्छ । यसलाई तोडमोड गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।’ महिलाको महिनावारी शरीरमा रहेका एस्ट्रोजन र प्रोजेस्टेरोनमा निर्भर रहन्छ । जब महिनावारी रोक्नका लागि औषधीको सेवन गरिन्छ, शरीरमा प्रोजेस्टेरोन हर्मोनको स्तर बढ्न जान्छ । हर्मोन प्रभावित हुनाले महिनावारी बन्द हुन्छ ।

महिनावारी रोक्ने औषधी किन हानिकारक ?

यदि केही कारणले तपाईंलाई यी औषधी खाने बानी लागिहाल्यो भने भविष्यमा शरीर कयौ किसिमका रोगको शिकार हुन सक्छ । थकान, सुस्तता, चिडचिढापनका साथै  कलेजोमा समेत समस्या देखा पर्न सक्छ ।

औषधी खाएपछि महिनावारी हुँदा पनि धेरै रगत बग्ने, अनियमित महिनावारी, हात–खुट्टा सुन्निने, वाकवाकी, महिनावारी बिना रगत आउने जस्ता समस्या देखा पर्न सक्छन् ।

के डाक्टरले दिन्छन् औषधी लिने सुझाव ?

डा. अग्रवाल भन्छिन्, ‘यस किसिमको औषधी लिने सुझाव डाक्टरले दुई अवस्थामा मात्रै दिन सक्छन् । पहिलो, त्यतिबेला जब बिरामीले आएर आफ्नो कुनै समस्या बताउँछन् जसमा कुनै आवश्यक कारण भएपछि मात्रै । यस्तो अवस्थामा उनीहरुको शारीरिक स्वास्थ्य परीक्षण गरेपछि उनलाई औषधी लिन सल्लाह दिइन्छ । दोस्रो कारण, जब कुनै उपचार र शल्यक्रियाका लागि महिनावारी रोक्न आवश्यक छ । यी दुई स्थितिमा मात्रै डाक्टरले यी औषधी सेवन गर्न सल्लाह दिन्छन् ।

यसलाई गर्भ निरोधक चक्कीको रुपमा नलिनुहोस्ः

डाक्टरका अनुसार आफूहरुले केही मामिलामा महिनावारी पर सार्ने औषधीलाई नबुझेरै गर्भनिरोधक चक्कीको रुपमा मानेर प्रयोग गर्ने गरेका छन् ।

गर्भनिरोधक चक्कीले गर्भ नियन्त्रण गर्छ । यसको प्रयोग महिनावारीलाई अघि वा पछि सार्नका लागि गर्नु हुन्नँ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!