पहिलोपटक हवाई यात्रा गर्दै हुनुहुन्छ ? यी कुरामा ख्याल राख्‍नुस्

Posted on: 16 Sep, 2022

काठमाडौँ | पहिलोपटक हवाइजहाजमा यात्रा गर्दा उत्सुकता र डर दुवै हुन्छ । विमान चढ्दा के के कुरामा विचार पुर्‍याउनुपर्छ ? विमान कसरी चढ्ने, सिट कस्तो होला, सिट बेल्ट कसरी बाँध्ने, के के नियम पालना गर्नुपर्ला भन्ने कुराले पनि एक प्रकारको तनाव दिइरहेको हुनसक्छ ।

पहिलोपटक हवाई यात्रा गर्दै हुनुहुन्छ भने तपाईंका लागि एक अनौठो र अविस्मरणीय अनुभव बन्छ । विमानमा प्रवेश गर्दैगर्दा एयर होस्टेसले स्वागत गर्ने क्षण, तपाईं उड्ने र तपाईंको छेउमा बसेको व्यक्तिलाई भेट्दाको अनुभव तपाईंका लागि नौलो लाग्न सक्छन् ।


तपाईं बस्ने सिट र सिट बेल्ट बाँध्ने तरीका एयर होस्टेसले सिकाइदिन्छिन् । त्यसपछि विमान यात्राका दौरान अपनाउनुपर्ने सुरक्षाका नियमबारे तपाईंका माइकमार्फत जानकारी दिइनेछ । यीलगायत पहिलोपटक हवाई यात्रा गर्दा अन्य धेरै कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

टिकट काट्ने प्रक्रिया

हिजोआज डिजिटल प्रविधिको विकाससँगै हवाई टिकट काट्न पहिलेजस्तो कष्ट झेल्नुपर्दैन । मोबाइल बैंकिङ, इसेवा, खल्तीजस्ता डिजिटल वालेटबाट सजिलै आफ्नो गन्तव्यका लागि आफैंले टिकट काट्न सकिन्छ । आफ्नो यी कुरामा पहुँच नभएमा नजिकैको ट्राभल एजेन्सीमा गएर टिकट खरिद गर्न सकिन्छ ।

पहिलोपटक यात्रा गर्ने तपाईंलाई टिकटको क्लासको विषयमा थाहा नहुन सक्छ । टिकटको क्लास समय र शुल्कले पनि निर्धारण गर्छ । तर पनि आन्तरिक विमानमा यसले खास ठूलो अर्थ राख्दैन । आजभोलि बिहान र रात्रि फेयरमा अलि सस्तो टिकट पाउन सकिन्छ ।

अन्य क्षेत्रको टिकटमा खासै फरक नपरे पनि विराटनगर, नेपालगञ्ज, भद्रपुर, सिमरा, भैरहवा, धनगढी, पोखराजस्ता प्रमुख गन्तव्यमा भने टिकट सस्तो–महंगो हुन्छ ।

पहिलेको भन्दा हवाई भाडा अहिले महंगिएको छ । ठिक्कको फेयर टिकटको लागि ४–५ दिनअघि नै टिक लिन सकिन्छ । चाडपर्वको समयमा भने पूरै भाडा नै तिर्नुपर्छ ।

टिकट काटेपछिको तयारी

विमान उडानको समयभन्दा एक–डेढ घण्टा अगाडि नै विमानस्थलमा पुग्नुपर्छ । भीडभाड हुने भएकाले विमानस्थलमा सुरक्षा जाँचका लागि निकै लाइन हुन्छ । बीचमा बोर्डिङ पास, अध्यागमनजस्ता निकायको जाँच भएपछि जहाज चढ्ने स्थानसम्म केही समय लाग्नसक्छ ।  अन्तर्राष्ट्रिय उडानमा जाँदै हुनहुन्छ भने दुई घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने हुन्छ ।


विमानस्थलमा आफ्नो आधिकारिक परिचयपत्र जस्तै, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी साथै लैजानुपर्छ । यस्तै होटल बुकिङ र स्पोन्सर लेटर लगायत अन्य अत्यावश्यक कागजात पनि साथै राख्नुपर्छ । यसैगरी आन्तरिक उडानमा २० केजी तौलसम्मको सामान लैजान सकिन्छ । त्यसभन्दा बढी लैजानुपरे विमान कम्पनीको नियमअनुसार शुल्क लाग्छ ।

यसैगरी दुई वर्षभन्दा माथिका बालबालिकालाई पूरै टिकट लाग्छ । कुकर, बिरालो विमान लैजान पाइन्छ, तर भ्याक्सिन लगाएको कार्ड भने हुनुपर्छ । विमानमा वृद्धवृद्धा र बिरामीका लागि व्हिल चियरको व्यवस्था गरिएको हुन्छ भने उनीलाई लैजान मद्दत पनि गरिन्छ । बिरामीले औषधि लैजान पाउँछन्, तर त्यसका लागि चिकित्सकको प्रेसक्रिप्सन भने हुनुपर्छ । उडानका दौरान तपाईंलाई कम्पनीको नियमअनुसार खानेकुरा र पेय पदार्थ पनि उपलब्ध गराइन्छ ।

तर सलाई, लाइटर, अचार, बिस्कुट, तरल पदार्थ, मदिरा, खोलेको बोतल, ब्याट्री, चक्कु तथा सरकारद्वारा प्रतिबन्धित अन्य सामग्री विमान यात्रामा लैजान पाइँदैन ।

विमानभित्र छिरिसकेपछि पाइलट र एयर होस्टेसको निर्देशन अनिवार्य मान्नुपर्छ । कुनै अप्ठ्यारो अवस्था आएमा त्यहाँ भएका सुरक्षाकर्मीको मद्दत लिन सकिन्छ । तपाईंको गन्तव्य आएपछि एयर होस्टेसले दिएको जानकारीलाई पछ्याउँदै तपाईं विमानबाट ओर्लनुहुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!