आयोजना प्रभावित हुँदा अन्धकार

Posted on: 30 Jan, 2022

माघ १६, भजनी |  अछामको रामारोशन गाउँपालिकामा १२ वटा साना लघु जलविद्युत् आयोजना चलेकामा गतवर्ष भदौ २ गते आएको बाढीले सबै आयोजनालाई प्रभावित बनायो । 

बाढीका कारण पाँच वटा आयोजना पूर्णरुपमा प्रभावित भए भने चार वटा आयोजना आंशिकरुपमा प्रभावित बन्योे । गाउँपालिकामा निर्माणाधीन दुई आयोजनामा क्षति पुर्याउदा ती आयोजनाको काम पनि निकै प्रभावित मात्रै भएन, गाउँपालिकाका पूरै वडा अन्धकार भए । बाढीका कारण आंशिक प्रभाव परेका तीन वटा आयोजना सञ्चालन भए पनि अन्य आयोजना अहिलेसम्म पनि सञ्चालनमा आइसकेका छैनन् ।

सबै वडामा विद्युत्को पहुँच पुगेको गाउँपाकिकामा अहिले डेढ वर्षदेखि उज्यालोबाट बञ्चित भएका छन् । लाखौँको लगानीमा निर्माण भएका आयोजना अलपत्र हुँदा त्यसको पुनःनिर्माणका लागि स्थानीय तहले पनि कुनै पहल नगरेको स्थानीयले गुनासो गर्दै आएका  छन् । 

वडा नं १ का रामबहादुर विकले मलातिकोट साना लघुजलविद्युत् आयोजनाबाट उज्यालो पहुँचमा आएको बताउँदै लामो समयसम्म वडाका नागरिक विद्युत्को पहुँचबाट बञ्चित हुनुपरेको बताउनुभयो । उता वडा नं २ मा पनि सबैभन्दा पहिले बिजुली बलेको थियो । डोग्री खोलाको पानीबाट २० किलोवाट क्षमताको विद्युत् आयोजना सञ्चालनमा आएको भए पनि स्थानीय सरकारले त्यसलाई कैलाश खोलामा सार्ने र त्यसको क्षमता बढाउने भन्दै विद्युत् सेवा बन्द भयो । अहिलेसम्म न त बिजुली बल्यो न त आयोजना नै सफल भयो । पहिले उपभोक्ता समितिमार्फत काम भएको आयोजना अहिले ठेक्का प्रक्रियामार्फत निर्माण हुन लागेको छ ।

रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्कर साउँदले अहिले वडा नं ३, ५ र ७ का केही भागमा मात्रै विद्युत् सेवा सञ्चालन रहेको बताउँदै अन्य क्षेत्रमा अझै विद्युत्को पहुँच पुर्याउन नसकिएको बताउनुभएको छ । गत वर्षको बाढीका कारण पाँच वटा आयोजनामा पूर्णरुपमा क्षति भएकाले त्यसलाई शुन्यबाटै सुरु गर्नुपर्ने देखिन्छ भने अन्य पाँच आयोजना सञ्चालनका लागि पनि लाखौँ रकम खर्च हुने देखिएको छ । 

अध्यक्ष साउँदले भन्नुभयो, “गाउँपालिकाको बजेटले सबै आयोजना सञ्चालन गर्न सम्भव छैन । प्रदेश र सङ्घ सरकारसँग बन्द भएका लघुजलविद्युत् आयोजना सञ्चालनका लागि पटकपटक समन्वय भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि पहल अझै हुन सकेको छैन ।”

उसो त गाउँपालिका रहेको वडा नं ३ सम्म राष्ट्रिय प्रसारण लाइनसमेत पुगिसकेको छ । बीचमा रहेको वडा नं १ र २ का गाउँ अझै अध्याँरोमा रहेका छन् । घरको आँगनबाट राष्ट्रिय प्रसारण लाइन जाँदा पनि विद्युत्को उज्यालोबाट रामारोशनका जनता बञ्चित हुँदै आएका छन् । स्थानीय हर्क विकले भन्नुभयो, “चार वर्ष भइसक्यो आयोजनाको काम सुरु भएको नत बिजुली बाल्नका लागि स्थानीय सरकारले तत्परता देखाउँछ न त राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि ।”

गाउँपालिका अध्यक्ष साउँदले चालू आर्थिक वर्षमा वडा नं १ को केही भाग, वडा नं ४, वडा नं ५ को भटाकाटिया क्षेत्रमा पु¥याउने तयारी भएको बताउनुभयो । उहाँले लघुजलविद्युत् आयोजनाको मापदण्ड र विद्युत् प्राधिकरणको मापदण्ड फरक परेका कारण पनि पुरानो संरचनामा काम नहुने भएका कारण गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउन समस्या भएको बताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष साउँदले भन्नुभयो, “गाउँपालिकाको ग्रामीण बस्तीमा जहाँ विद्युत्को पहुँच पुर्याउन कठिन भएका बस्तीमा सोलारको व्यवस्थाका लागि सङ्घीय सरकारबाट रु दुई करोड ५० लाख बजेट आएको छ । गाउँपालिकाका नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने प्रयत्नमा लागिपरेका छौँ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!