अवैध लागुऔषधसहित चार जना पक्राउ

Posted on: 06 Apr, 2022

चैत्र २३, काठमाडौं | काठमाडौं र सुर्खेतबाट प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका–१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरी गडी गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रमोद कुमार मेहेता रहेका छन् । 

नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनीहरुको साथमा अवैध लागुऔषध भेटिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथमा लागुऔषध नाईट्राभेट ६ सय ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, लुपिजेसिक २ सय एम्पुल र नाईट्राभेट १ हजार ८ सय ५ ट्याब्लेट भेटिएको प्रहरीले जनाएको छ ।  

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पदमपुरबाट अवैध लागुऔषधसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ बस्ने २५ वर्षीय बर्ण बहादुर बोहरा र सोही नगरपालिका–१२ बस्ने २८ वर्षीय भिमा तामाङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरुको कोठाबाट प्रहरीले करिब ८ ग्राम ६ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, करिब ७ ग्राम १ सय ४० मिलिग्राम सेतो हेरोईन जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद १ लाख ५६ हजार १ सय २० रूपैयाँ र १ थान एटिएम कार्ड बरामद गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!