हत्यामा संलग्न रहेको आरोपमा दुई जना बालक पक्राउ

Posted on: 31 May, 2022

जेठ १७, सुनसरी | धरान उपमहानगरपालिका–११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका–१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय बालक रहेका छन् । 

उनीहरूमध्ये १७ वर्षीयलाई धनकुटाको छिन्ताङबाट शनिबार र १३ वर्षीयलाई धरानको बगरकोटबाट शुक्रबार पक्राउ गरिएको हो । 

घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

धरान उपमहानगरपालिका–५ तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा बिहीबार बिहान शरीरको विभिन्न भागमा धारिलो हतियारले घोपेको तथा काटिएको अवस्थामा सन्दिप लम्जेलको शव फेला परेको थियो । 

शारीरिक सम्बन्ध राख्ने केटी खोजी देउ भन्दै उनीहरूलाई लम्जेलले धम्काई गाली गलौज गरेको रिसिवीमा उनीहरुले हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले झुक्यानमा पारी लम्जेललाई उक्त खोलामा बोलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको भनाई प्रहरीको छ ।       

उनीहरूमाथि जिल्ला अदालत सुनसरीबाट ज्यान सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!