अमेरिकी डलर भन्दै कागजको पोको दिएर ८ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

Posted on: 21 Jun, 2022

असार ७, काठमाडौं | अमेरिकी डलर भन्दै एक व्यक्तिलाई कागजको पोको दिएर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका– ९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ छन्। प्रहरीले गरेको अनुसन्धानका क्रममा अमेरिकी डलर भनेर कागजको पोको दिएर फरार भएका व्यक्ति कुमार श्रेष्ठ भएको खुलेको थियो। 


प्रहरीका अनुसार गत जेठ १७ गते सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ४ घर भइ ललितपुरको नख्खु बस्ने ६२ वर्षका एक पुरुषलाई कलंकीको सीता पेट्रोल पम्पनजिक एक व्यक्तिले डलर साट्ने भन्दै प्लास्टिकको थैलीमा अमेरिकी डलर जस्तो देखिने बण्डल दिएका थिए। 

 आफ्नी आमा गम्भीर बिरामी परेको र उपचारका लागि पैसाको खाँचो परेकाले आफूसँग अमेरिकी डलर मात्रै भएको भन्दै ती व्यक्तिले ६२ वर्षीय पुरुषसँग ८ लाख रुपैयाँ लिएर डलरजस्तो देखिने कागजको बण्डल दिएका थिए। खोलेर हेर्दा डलर भनिएको बण्डलमा कागज मात्रै देखिएपछि पीडित पुरुषले प्रहरीलाई खबर गरेका थिए। 

घटना भएको ३ सातादेखि फरार रहेका कुमारलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले असार ३ गते काठमाडौंको कलंकीबाट नै पक्राउ गरेको हो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!