झापामा तीनजना किशोरी एकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

Posted on: 24 Jul, 2022

साउन ८, झापा | झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला  परेका छन्।

कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ती किशोरीहरु झुन्डिएर मृत अवस्थामा भेटिएका हुन्। 

घटनाको प्रकृति हेर्दा उनीहरु तीनैजनाले आत्महत्या गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बताए। 

आत्महत्या गर्नेहरूमा कचनकवल-५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना छन्। 

स्थानीयबासीले उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट हराएको बताएका छन्। 

उनीहरूलाई आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरी बोलाएका थिए। 

तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । आफैंले काम गर्ने बगानमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले उनीहरुको मृत्युको कारण खुलिनसकेको जनाएको छ। यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!