जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेकाे प्यानल निर्विरोध

Posted on: 05 Jun, 2022

जेठ २२, अर्घाखाँची | जिल्ला समन्वय समिति अर्घाखाँचीकाे सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । ५ दलीय  गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेकाे पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।

यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता  जिवनारायण काेइराला निर्विरोध चयन भएका छन् । पाणिनी-५ मैदान निवासी कोईराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत रहेका छन् ।

यसैगरी उपप्रमुखमा एमाले  नेतृ  लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् ।  छत्रदेव-१ चिदीका निवासी ज्ञवाली नेकपाकाे निरन्तरताकाे रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन् ।

यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू  पाणिनी-७ का कमल घिमिरे , भुमिकास्थान-८ का झुपलाल खनाल र  सन्धिखर्क-७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमाले नेतृ  टुल्कादेबी आचार्य, मालारानी-४,डालकुमारी भण्डारी, शितगंगा-१०,सीता आचार्य, मालारानी-१ चयन भएका छन् ।  दलित/अल्पसंख्यक सदस्य पदमा मिना बि.सी. परियार चयन भएका छन् ।

जिल्लाका ६ वटा पालिका मध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जिते सँगै एमालेको जित सुनिश्चित भएको थियो  । 

समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको  आठ,नेपाली कांग्रेसको दुई , राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत रहेको छ । 

कुनै पदमा पनि उम्मेदवारी नदिएसँगै ५ दलीय  गठबन्धन जिल्ला समन्वय समितिबाट बाहिरीएको छ भने नेकपा एमालेले २०५४ सालको बिरासत फिर्ता गरेको छ । निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!