बैतडीका ७५० उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएनन्

Posted on: 03 Aug, 2022

साउन १८, बैतडी | गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका बैतडीका ७५० व्यक्तिहरूले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । 

निर्वाचनमा भाग लिएका एक हजार ४७६ उम्मेदवारमध्ये २८४ जनाको धरौटी जफत भए पनि एक हजार १९२ जनाले विवरण बुझाउनु पर्नेमा ४४२ जनाले मात्रै विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।


निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवार भएका व्यक्तिले खर्चको विवरण बुझाउनुपर्ने भए पनि ७५० जनाले नबुझाएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी दिए । 

सबै उम्मेदवारहरूलाई स्थानीय तहमार्फत निर्वाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुझाएपछि प्राप्त विवरण निर्वाचन आयोगमा पठाइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

विवरण नबुझाउने उम्मेदवारको नामावली आयोगमा पठाइएकोले आयोगको निर्देशनअनुसार कारबाही हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीमा ४ नगरपालिका तथा ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । 

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख/उपप्रमुखले चार लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले तीन लाख ५० हजार खर्च गर्न पाउने गरी खर्च सीमा तोकेको थियो । 

त्यसैगरी, नगरपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा दुई लाख रुपैयाँ खर्च गर्न पाउने र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा एक लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!