स्टुडियो मै छिरेर पत्रकार माथि कुटपिट

Posted on: 03 Jun, 2022

जेठ २०, बझाङ | बझाङमा रेडियोको स्टुडियो भित्र पसेर एक व्यक्तिले पत्रकारलाई कुटपिट गरेका छन । जिल्ला सदरमुकाम चैनपुर स्थित जयपृथ्वी एफएम कार्यरत पत्रकार कर्ण धामीलाई सुर्मा गाउँपालिका–४ का खडक बोहराले कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएका छन् ।

मदिरा सेवन गरेर स्टुडियोमा पसेका बोहराले रेडियोमा प्रसारण हुने श्रद्धाञ्जलीको विषयमा कुरा गर्ने क्रममा आफूमाथि कुटपिट भएको पीडित धामीले बताए । एक मृतकका आफन्तको श्रद्धाञ्जली सन्देश प्रसारण गराउनका लागि रेडियो स्टेसन पुगेका बोहराले मृतकको नाम नै नभएको सन्देश प्रसारण गर्न दबाब दिएको र आफूले नमाने पछि स्टुडियो भित्र पसेर कुटपिट गरेको उनले बताए ।


‘स्टुडियोमा काम गरिरहेको थिए, अरू साथीहरु पनि आआफ्नो कार्यकक्षमा काम गरिरहेका थिए । उनले ल्याएको सन्देशमा मृतकको नाम नै थिएन, मृतकको नाम ल्याएर आउनुहोस्, अनि प्रसारण गरौंला भन्दा अश्लिल गाली गर्दै कुटपिट गर्न थाले,’ उनले भने उनले अपशब्द प्रयोग गर्दै चैनपुरमा बस्न नदिने र ज्यान मार्ने धम्कीसमेत दिएको धामीले बताए ।

बोहराको कुटपिटबाट पत्रकार धामीको हातमा चोट लागेको छ । कुटपिटमा संलग्न बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रेडियोका अध्यक्ष प्रताप ओलीले सञ्चारकर्मी धामी माथि कुटपिट गर्ने बोहरालाई कारबाहीको माग गरेका छन् । ‘रेडियोका कर्मचारी धामीलाई कुटपिट, गाली बेइज्जती तथा अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको घटनाप्रति रेडियो परिवार घोर आपत्ति जनाउँछ । घटनाका दोषीलाई यथाशीघ्र कानुनी दायरमा ल्याई कानुनबमोजिम कारबाहीमा माग गर्दछौं,’ विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन् ।

पत्रकार माथि भएको कुटपिटको घटनाको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ बझाङ र प्रेस चौतारी नेपालले पनि विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् । विज्ञप्तिमा दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!