भेरीमा उपचाररत एक सङ्क्रमितको मृत्यु

Posted on: 02 Feb, 2022

माघ १९, राँझा | नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित बिरामीको आज बिहान मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–२ निवासी ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो । उहाँका अनुसार गत पुस २३ गते भेरी अस्पतालमा पिसिआर गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरी उहाँको उपचार हुँदै आएको थियो । स्वास्थ्य अवस्थामा सुधार नभएपछि उहाँको आज बिहान मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४७ जना पुगेको छ ।

बाँकेमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै गएको पुस २९ गतेदेखि बाँकेका विद्यालय बन्द छन् ।

लक्षित समूहका बालबालिकालाई खोप लगाउन आज र भोलि दुई दिन विद्यालय खोलिएको छ । अधिकांश विद्यालयलाई खोप केन्द्र स्थापना गरेर खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा भोलिसम्म कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने कार्यक्रम छ । करिब २४० वटा विद्यालयलाई केन्द्र बनाएर ६९ हजार बालबालिकालाई खोप लगाइने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!