पूर्व राजा वीरेन्द्रका सालिक राख्न खोज्दा धम्बोझी चोक तनावग्रस्त, हवाई फायरसँगै अश्रु ग्यास प्रहार

Posted on: 02 Jun, 2022

जेठ १९, नेपालगञ्ज | बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ ।

२०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको सालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको सालिक पुनःस्थापना गर्न भेला भएका थिए ।


उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको सालिक राखेका थिए । तर सालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले वीरेन्द्रको सालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ ।

सोही क्रममा धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको सेतु विकको सालिक पनि तोडफोड भएको छ ।

सेतु विक चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै सालिक राखियो ।

धम्बोजी चोक र सेतु विक चोकको तनावको क्रममा प्रहरी र राजावादी समूहबीच ढुंगा हानाहान भएको थियो । राष्ट्रबादी युवाको समुहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास प्रहार गरेको हो । 

यसअघि नेपालगन्जको त्रिभुवन चोकमा पनि सोही समुहले पूर्व राजा त्रिभुवनको सालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त सालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि पछाडी हटेको थियो ।धम्बोझी चोकलाई अहिले प्रहरीले कब्जामा लिएर आवतजावत समेत गर्न दिएको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!