बैदेशिक रोजगारीको प्रि-अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री श्रेष्ठको आचारसंहिता विपरित मतदाता प्रभा

Posted on: 16 Oct, 2022

असोज ३०, बारा। वैदेशिक रोजगारीमा जाने युवाको प्रि-अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री किसान श्रेष्ठले निर्वाचन आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने प्रयास गरेका छन् । बारा- ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका श्रेष्ठले परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा आइतबार अन्तर्वार्ता राख्न लगाएका हुन् ।

श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम ललितपुर–७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा मलेसिया जाने युवाहरुको अन्तर्वार्ता राखेको हो । दुई दिनसम्म चल्ने उक्त अन्तर्वार्ता लिने स्थानमा पूर्वमन्त्री श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलको ब्यानर राखिएको छ ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भईसकेका श्रेष्ठले चुनावी प्रचारमा म्यानपावर कम्पनीको प्रयोग गरेका हुन् । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीका प्रशासन प्रमुख विवेक शर्माले पूर्व श्रममन्त्री श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम अन्तर्वार्ता राखिएको बताए । शर्माका अनुसार प्रि-अन्तर्वार्तामा छनौट भएकाहरुलाई अर्को अन्तर्वार्ता लागि दुई दिनपछि काठमाडौमा बोलाइने र तीन महिनाको प्रक्रियापछि मलेसिया पठाईनेछ ।

मतदातालाई प्रभावित पार्ने उदेश्यसहित उम्मेदवारको चुनावी ब्यानरमुनी अन्तर्वार्ता राखिएपछि अन्य राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरितका कार्य गरिएको भन्दै आपत्ती जनाएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले उम्मेदवारको ब्यानर र पार्टीको झण्डा हटाउन प्रहरी परिचालन गरिसकेको जानकारी दिएका छन् ।


फ्रि भिसा/फ्रि टिकटमा मलेसियास्थित रोजगारदाता कम्पनी स्यारिकात सिन क्वङल प्लास्टिक इण्डष्ट्रिजमा रोजगारीको अवसर रहेको भन्दै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले सात सय ५० जना कामदार माग गरेको सूचना निकालेको थियो । सोही सूचना बमोजिम निर्वाचनको समयमा उम्मेदवारको चुनावी ब्यानरमुनी अन्तर्वार्ता राखिएको हो ।

उक्त कम्पनीले यसअघि तनँहुमा पनि अन्तर्वार्ता राखेको थियो । तनँहु पूर्वमन्त्री श्रेष्ठको गृह जिल्ला हो । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठले सत्ता शक्तिको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न खोजेको स्थानीय रमेश साहले बताए ।

अन्तर्वार्ताका लागि सर्लाही, मोरङ, सुनसरीसहित देशका विभिन्न स्थानबाट युवाहरु परवानीपुर आएका छन् । तर म्यानपावर कम्पनीले भने बारा क्षेत्र नं. ४ का युवाको मात्रै अन्तर्वार्ता लिने भनेपछि अन्य जिल्लाबाट आएका युवाहरु अलपत्र परेका छन् । सर्लाही मलंगवाबाट आएका होजेन्द्रकुमार यादवले म्यानपावर कम्पनीले सूचना गरे बमोजिम आफू आएको तर यहाँ आएपछि निर्वाचन क्षेत्र नं. ४ का युवाहरुको मात्रै अन्तर्वार्ता लिने भनेपछि आफूहरु अलपत्र परेको बताए ।

अन्य जिल्लाबाट आएका युवालाई फर्काउदै नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरु यतिबेला स्थानीय युवा खोज्न गाँउमा परिचालित भएका छन् । फ्रि भिसा, फ्रि टिकटमा मलेसिया लैजाने भन्दै गाँउबाट युवाहरु खोजेर अन्तर्वार्तामा ल्याउन समाजवादीका कार्यकर्ता परिचालित भएका हुन् । चुनावी अभियानका क्रममा श्रेष्ठले बेरोजगार युवालाई आफ्नै क्षेत्रमा रोजगारी दिने र रोजगारको वातावरण बनाउने बताउने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!