५० लाखको दूध पोख्ने किसान भन्छन् : हतोत्साही छैनौँ (भिडियो सहित)

Posted on: 02 Mar, 2018

प्रभात सुवेदी । फागुन १८, बर्दिया । 

मोटरसाईकलमा ४० लिटर दूध अटाउने क्यान बोकेर बढैयाताल ७ राजापुर निवासी ज्ञानराज लम्साल भगवती दूग्ध उत्पादन सहकारी संस्थामा आउनुभयो र सिधै ट्याङ्कीमा खन्याउनुभयो त्यसपछि अपरेटर पदमराज आचार्यलाई भन्नुभयो, ‘म अर्को क्यान लिएर आउँछु म गएँ है, यसो भनेको ५ मिनेटमै फेरि ४० लिटरको क्यान बोकेर आउनुभयो वहाँ । यसरी वहाँले एक पटकमा साँझ विहान गरेर दैनिक १ सय ६० लिटर दूध विक्री गर्नुहुँदो रहेछ । यसरी हेर्दा दैनिक वहाँको आम्दानी झण्डै १० हजार रुपैंया हाराहारी हुने रहेछ । भने मासिक आम्दानी मात्रै ३ लाख हुदो रहेछ ।

 

केही दिन अघि मात्रै ढुवानीमा समस्या आएकाले किसानले खेतमा दूध पोख्नुपर्ने अवस्था आएकोमा वहाँले भन्नुभयो, ‘वर्षमा ३÷४ दिन मिल्क होलिडे हुँदैमा हामी आत्तिइहाल्नुपर्ने अवस्था भने छैन । कहिलेकाही हुने यस्ता प्रकारका असहजतालाई सामान्य रुपमा लिन सकिएन भने व्यवसायलाई अगाडि बढाउन सकिँदैन । 

सहकारीबाटै ५० हजार ऋण लिएर शुरुमा भैंसी पाल्नुभएका वहाँले भैंसी धेरै थाक्ने भएकोले गाइ पालन गर्न थाल्नुभयो र हाल आफूले मासिक १२ हजार तलब दिएर ३ जना रोजगारी दिएको र अब कृषिबाट ऋण लिएर ५०/६० ओटा गाईहरु पाल्ने सोच बनाएको बताउनुभयो । वहाँले नै विदेश जान लागेका ३ जना युवाहरुलाई  पासपोर्ट भिसा लागिसकेको अवस्थामा पनि गाई पाल्न प्रोत्साहित गर्नुभयो र आज ती युवाहरु घरपरिवारसँगै बसेर राम्रो आम्दानी गरेकोमा आफूलाई खुशी लागेको र वहाँहरु पनि निकै खुशी भएको ज्ञानराज लम्साल बताउनुहुन्छ । हाल वहाँले २२ ओटा गाई पाल्नुभएकोमा १३ ओटाले नियमित रुपमा दूध दिने गरेका छन् ।

 

२०५७ सालमा स्थापना गरिएको भगवती दुग्ध उत्पादन सहकारी संस्थामा दैनिक २० लिटर दूध संकलन गर्दै नेपालगञ्ज पु¥याएर २० २२ रुपैंया प्रतिलिटर बेच्ने गरेको संस्थाले हाल दैनिक ४ हजार लिटर दूध संकलन गरी रु.५५ देखि ४५ मा विक्री गर्ने गरेको अध्यक्ष ईन्द्र प्रसाद लुँईटेलले बताउनुभयो । प्रतिदिन ६५ सय लिटर दूध संकलन गर्न सक्ने क्षमता भैसकेकोमा यो क्षमतालाई अझ विस्तार गर्दै लैजाने लक्ष्य रहेको वहाँ वताउनुहुन्छ । यसरी गाउँमा नै दूग्ध संकलन केन्द्र खोलिएपछि धेरै युवाहरु विदेश जान पनि छाडेका छन् भने कोही युवाहरु वैदेशिक रोजगारीबाट फर्केर उन्नत जातका गाई, भैसी पालन गरी दूग्ध व्यावसायी बनेर राम्रो आम्दानी गरिरहेको वहाँले बताउनुभयो । संस्थाले ल्याएको गोठ सुधार, तालिम तथा किसानहरुमा सचेतना अभिवृद्धिबाट पछिल्लो सयममा दूधको उत्पादन ह्वात्तै बढेर व्यवस्थापन र बजारीकरण गर्न असहज भयो ।


‘दैनिक रुपमा १ हजार लिटर दूध हामीले नेपालगञ्ज र गुलरियामा वितरण गर्छौं र बाँकी दूध दूग्ध विकास संस्थान दूग्ध वितरण  आयोजना कोहलपुरमा पठाउँछौँ, अध्यक्ष लुईंटेलले भन्नुभयो ।’ यस वर्ष गाडी नभएका कारण ढुवानी गर्न असुविधा भएर ६० हजार लिटर दूध क्रिम पेलेर फाल्न वाद्य भयौँ जसले गर्दा सहकारीलाई ठूलो नोक्सान भयो । तर किसानलाई ऋणको व्याज तिर्न सहकारीले घाटा खाएर भएपनि हामीले किसानलाई दूधको मूल्य दियौँ । यसरी फाल्दा पनि ४ दिनसम्म प्रभावकारी ढुवानी नभएका कारण किसानलाई दूध नल्याउन भन्यौँ । अबको २ वर्षमा ६ हजार लिटर दूध ढुवानी गर्ने गाडी र पास्टराइज गरेर पोका पारी वितरण गर्नका लागि उपकरण लगायतका उपकरणहरुको लागि २० लाख जति लगानी थप गर्नुपर्ने भएको छ तर सहकारी संस्था सेवामुखी भएकोले पर्याप्त बजेट अभावको कारण लक्ष्य लिएपनि काम गर्न सकिएको छैन । वहाँले बताउनुभयो । यो ठाउँमा मात्रै १० हजार लिटर जम्मा गर्ने क्षमता हामीमा छ तर यसरी संकलन गरेर किसानको दूध खेतमा फाल्नुपर्ने अवस्था छ भने सरकारले भारतबाट दूध तथा दूग्धजन्य पदार्थको आयात गरी स्वदेशको ठूलो रकम बाहिर पठाइरहेको दुःख लाग्दो अवस्था छ । हामीले यसका लागि मन्त्री, सांसद, सचिव, दूग्ध विकास वोर्डलाई पटक पटक फोन ग¥यौं तर आश्वासन बाहेक चित्त बुझ्दो समाधान भने पाएनौँ । यसले गर्दा किसानलाई पशुपालनमा अगाडि बढाउने वा नबढाउने भन्ने कुरा सोचनीय विषय भएको छ,’ अध्यक्ष लुईंटेलले भन्नुभयो । 

दूग्ध विकास वोर्डबाट आउनुभएका कर्मचारीबाट काठमाडौँमा दूधको अवस्था कमजोर छ हामी व्यवस्थापन गर्छौँ भनेर आयोजनाबाट  एक हप्ताभित्र एउटा गाडि थप गर्दा भने ढुवानीमा केही हल्का भएको छ तर यसले मात्रै दीगो व्यवस्थापन नहुने अध्यक्ष लुईंटेल बताउनुहुन्छ । हामीलाई आफ्नै ६ हजार लिटरको ट्याङ्की सहितको गाडी आवश्यक छ । अहिले हामीसँग जम्मा २ हजार बोक्ने क्षमता भएको सानो भ्यान मात्रै रहेकोमा गाउँघरमा मात्रै उपयोग गरिएको बताउनुभयो । 

यस संस्थालाई दीर्घकालीन रुपमा शशक्त बनाई दूग्ध संकलनका लागि प्रभावकारी बनाउन तत्काल ट्रान्सफर्मरको आवश्यकता रहेको छ । हामीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ६ सय जनालाई रोजगारी दिएका छौँ भने सरकारले पनि किसानहरुलाई  स्वदेशमा नै दाना तथा मल उत्पादन गरी वितरण गरिदिने, गोबर ग्याँस उत्पादनमा प्राथमिकता दिने र आधुनिक उपकरणयुक्त बनाउन सक्ने हो भने हामीले नै मध्यपश्चिमकै दूध संकलन गरेर नेपालका प्रमुख शहरहरुमा दूध पु¥याउन सक्दछौँ अध्यक्ष ईन्द्र प्रसाद लुईंटेलले बताउनुभयो । 

सहकारीमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत पदमराज आचार्यले किसानको दूध स्थानीय रुपमा खरिद तथा विक्रीको जिम्मेवारी पाउनुभएको छ । वहाँले कम्प्युटर प्रविधिबाट दूधको गुणस्तर अनुसारको अटो बिल प्रिन्ट गरी दिनुहुन्छ ।  जम्मा ६६२ जना किसान आवद्ध रहेको यस सहकारीमा दैनिक ३ देखि ४ सय जना किसानहरु दूध लिएर आउने गरेको वहाँ बताउनुहुन्छ ।  विहान ३२ सय बेलुका ११ सय लिटर गरी दैनिक रुपमा ४ हजार भन्दा बढी दूध संकलन गर्ने गरिएको जसबाट सिधैँ बजारमा रहेको पैसा गाउँमा आउने माध्यम बनेको वहाँ बताउनुहुन्छ ।

उपाध्यक्ष तथा व्यवस्थापक हरि सुवेदीले सहकारीमा संकलित दूधको  दैनिक भुक्तानी १ लाख ६० हजार र मासिक भुक्तानी ४८ लाख रहेको बताउनुहुन्छ । सहकारीबाट दूध संकलन कार्य शुरु गरिएपछि किसानहरु उत्साहित भएका र यो क्षेत्रकै नमूना सहकारीका रुपमा स्थापित भएकोले पनि सरकारले लगानी वृद्धि गर्नुपर्ने वहाँको धारणा रहको छ । गत वर्ष ३८ लाख मुनाफा भएको, किसानलाई संस्थाको तर्फबाट रु. २ र सरकारको तर्फबाट रु. २ गरी प्रति लिटर बोनस ४  रुपैंया वोनस दिइएको साथै सेयर बोनस १५ प्रतिशत र बचत बोनस ७ प्रतिशत दिइएको वहाँले बताउनुभयो । 

राज्यले उचित लगानी गरी किसानहरुलाई प्रोत्साहन दिएर संकलन केन्द्रहरुमा प्रविधिको व्यवस्थापन गर्न सक्ने हो भने दूध र दूग्धजन्य पदार्थहरुको लागि नेपाल आफैमा आत्मनिर्भर मात्रै हैन कि विदेशमा पनि निकासी गरी आर्थिक रुपमा सम्पन्न हुन सक्ने सम्भावना देखिन्छ । यसका लागि स्थानीय सरकार, सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले समयमै दीर्घकालीन कार्ययोजना बनाएर अहिले देखि नै लाग्ने पर्ने देखिन्छ । 

हेर्नुहोस् पुरा भिडियो सहित ...



यस बिषयमा तपाइको प्रतिक्रिया...!