गजलमा बल्यो बर्दिया !

Posted on: 13 Oct, 2018

प्रभात सुवेदी । असोज २७, बर्दिया ।

समाजमा व्याप्त कुरिती र कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्ने उद्देश्यका साथ कृष्णसार पाठक मञ्च बर्दियाले आज टिकटमा गजल साँझ भव्यताका साथ सम्पन्न गरेको छ ।


बर्दिया जिल्लाका आधा दर्जन स्रष्टाहरुबाट गजल वाचन गरिनुका साथै विभिन्न साङ्गीतिक प्रस्तुतीहरुका साथमा निकै गुणस्तरीय कार्यक्रम आज गुलरिया स्थित लोटस गार्डेन एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लामै पछिल्लो समय गजल विधामा शशक्त मानिएका प्रतिभाहरु प्रकाश पौडेल, हरिप्रकाश भण्डारी, लक्ष्मी खनाल ‘अभि’, श्रेष्ठ समनश्री, अञ्जु स्मारिका र धनसिंह गिरीले आफ्ना दमदार गजल वाचन गर्नुभयो । गजल वाचन भैरहँदा पाँच दर्जन बढीको उपस्थिति रहेको हल नै तालीको गड्गडढाहटले गुञ्जायमान भएको थियो । साथै कार्यक्रममा बर्दियाका गायकद्वय विष्णु थापा ‘सरगम’ र गेमराज गिरीले आ–आफ्नो साङ्गीतिक प्रस्तुतीहरु प्रस्तुत गनुभएको थियो । 


टिकट सोबाट उठेको रकम समाजमा सकारात्मक सोचको विकासका लागि सदुपयोग गरिने पाठक मञ्चका संयोजक अयोध्या प्रसाद श्रीवास्तवले बताउनुभयो । 

गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवको प्रमुख आतिथ्यता र उपप्रमुख शुशिला गिरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रको सहजीकरण पाठक मञ्चका अभियान्ता वामदेव ज्ञवालीले रोचक ढंगले आफ्ना गजलहरु वाचन गर्दै दर्शकहरुको ध्यान तान्दै गर्नुभएको थियो । 

साथै गजल प्रस्तोताहरुका साथै लोटस गार्डेन एण्ड रेस्टुरेन्टलाई लाई कार्यक्रममा सम्मान गरिएको थियो ।  कार्यक्रमका मिडिया पार्टनरका रुपमा साझा सबाल बर्दिया, बर्दिया अनलाइन, जनदृष्टि रहेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!