गाडी बिग्रिएपछि बीमा रकम पाउन गाडीमा आगो लगाएपछि…

Posted on: 13 Feb, 2023

फागुन १, बर्दिया | बीमाको रकम दाबी गर्न बर्दियामा चालकले फोर्स गाडीमा आगजनी गरेका छन् । जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी सहायक हबल्दार नाराण ओलीले गाडी बिग्रिएकाले मर्मतका लागि बढी रकम लाग्ने हुँदा चालकले बीमा दाबी गर्न गाडीमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

आज बिहान २ बजे बर्दिया मधुबन नगरपालिका ४ बसन्तास्थित माचड चोक देखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा आगलागी भएको अवस्थामा गाडी देखिएको थियो। सुरुमा नम्बर नखुलेपछि प्रहरीले अनुसन्धान गर्दा लु २ ख २०८४ नम्बरको सेतो रङ्गको फोर्स गाडी भएको खुलेको थियो।


इलाका प्रहरी कार्यालय ढोढरी बर्दियामा प्रहरी टोली खटिई घटनास्थलमा पुग्दा गाडीको पुरै भाग आगलागी भई पूर्ण रुपमा जली नष्ट भएको अवस्थामा फेला पारेको थियो। तर, घटनास्थलमा कुनै पनि व्यक्ति भेटिएनन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीले गाडीको चालक बर्दिया मधुबन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

बीमाको लागि आगलागी

चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बीमा रकमको लागि आगो लगाएको खुलेको हो।

चौधरीले माघ २० गते गाडी बिग्रिएकोले मर्मतको लागी ग्यारेजमा लागेछन्। तर त्यहाँ मर्मत गर्दा बढी रकम लाग्ने भएछ। त्यसपछि चालकले गाडीमा आगो लगाई बीमा दाबी गर्ने योजना बनाएछन् । त्यसपछि माघ २९ गते छुट्टै जिपको सहयोगले बसन्ता स्थित एकान्त जङ्गल एरियाको माचड भुरिगाउँ जोड्ने पक्की सडकको पश्चिम किनारामा पुर्‍याएर चालक रामु चौधरीले डिजेल छर्की आगो लगाई आफ्नो घरतिर गएको देखिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!