तिब्र शहरीकरणले औद्योगिक क्षेत्र धराशायी’

Posted on: 14 Jan, 2018


 पुस ३०, भक्तपुर  |  तीव्र्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै गएको उद्योगी व्यवसायीले बताएका छन् । 

रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी शहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धराशायी बन्दै गएको बताउनुभयो । 

उहाँले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग वाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आए तापनि सरकार र स्थानीय सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसक्दा र सामान्य पूर्वाधार तयार गर्न नसक्दा भक्तपुरको उद्योग फष्टाउन नसकेको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकीय विकासका लागि सरकार उदासीन रहेको आरोप लगाउँदै यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जानकारी दिनुभयो । उहाँले औद्योगिक विकासका लागि थप औद्योगिक क्षेत्र स्थापना गरिनुपर्ने पनि जोड दिनुभयो । 

उद्योग वाणिज्य संघ भक्तपुरका प्रथम उपाध्यक्ष रामप्रसाद प्रजापतिले केन्द्रीय तथा स्थानीय सरकारले भक्तपुरमा औद्योगिक विकासका लागि सक्दो पहल गरेमा भक्तपुरमा विभिन्न विधाका उद्योगको विकास गर्न सकिने बताउनुभयो । विभिन्न उद्योगी व्यवसायीले भक्तपुरमा साना तथा घरेलु उद्योगका साथै अन्य सम्भावित उत्पादनको पहिचान गरी उद्योग विकास गर्न सकिने बताउनुभयो । (रासस)


यस बिषयमा तपाइको प्रतिक्रिया...!