उपनिर्वाचनका लागि ५४ मतदान केन्द्र, मुख्य निर्वाचन अधिकृत प्रधान

Posted on: 25 Oct, 2019

कात्तिक ८, भक्तपुर | जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा १ मा रिक्त रहेको प्रदेश सदस्यको निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारेको छ । 

कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले आज यसबारे जानकारी दिँदै उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको यसक्षेत्रमा कूल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरेको जानकारी दिनुभयो ।

यसक्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन् । विसं २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा ७४८ महिला र ७३६ पुरुष गरी कूल एक हजार ४८४ मतदाता थपिएको उहाँले बताउनुभयो । निर्वाचनका लागि भक्तपुर जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको पनि उहाँले बताउनुभयो ।

विसं २०७४ मा भएको निर्वाचनमा निर्वाचित हरिशरण लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि दलहरुले निर्वाचनको तयारी र छलफललाई तीव्र पारिएको छ ।

आगामी मङ्सिर १४ गते देशभर ३७ जिल्लामा रिक्त पदहरुमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन र स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!