भक्तपुरमा एमाले संगठित सदस्यको संख्या साढे ९ हजार

Posted on: 11 Nov, 2021

कात्तिक २५, भक्तपुर | नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि भक्तपुरमा पनि तयारी तीब्र छ । मंसिर १०-१२ चितवनमा हुने महाधिवेशनका लागि वडा र गाउँ अधिवेशन भइसकेका छन् ।

भक्तपुर जिल्लाबाट एमाले पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ रहेकाे एमालेले जानकारी दिएकाे छ । एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ३ सय ३४ र निर्वाचन क्षेत्र नम्बर २ मा ६ हजार ९३ जना संगठित सदस्य छन् ।

जिल्ला र विशेष जिल्ला अन्तर्गत ५ सयसम्म दलित सदस्यमध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि आउनेछन् । तीन प्रतिनिधिमध्ये एक महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।  हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ हजार २ सय पार्टी संगठित सदस्यबाट कम्तिमा एक महिलासहित ३ जना महाधिवेशन प्रतिनिधिका रुपमा चुनिने व्यवस्था रहेको छ। 

केन्द्रीय सल्लाहकार परिषद्बाट १५ जना र प्रदेश र सो सरहका कमिटीबाट कम्तिमा दुई महिलासहित पाँच जनाका दरले प्रतिनिधि आउनेछन् । एमाले केन्द्रीय कार्यालयको अनुसार पार्टीको संगठित सदस्यको संख्या सात लाख २८ हजार छ । ती सदस्यहरुबाट महाधिवेशनमा एक हजार पाँच सय ५२ जना महाधिवेशन प्रतिनिधिको रुपमा चुनिएर आउने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!