नारायणी नदीको किनारमा सरसफाइ गर्दै राजेश हमाल

Posted on: 21 Mar, 2022

चैत ७, चितवन । अभिनेता राजेश हमाल नारायणी नदीको सरसफाइमा सहभागी भएका छन् ।

स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले  आयोजना गरेको  नदी सरसफाइ कार्यक्रममा अभिनेता राजेश हमाललेपनि स्थानीय संगै नारायणी नदीको सरसफाइमा सहभागी भएका छन् । 

सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारमा हमालले बिहान दुई घण्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरे ।

केही समयअघि सोही ठाउँमा घुम्न आउँदा निकै फोहोर देखेपछि स्थानीयलाई लिएर आफू सरसफाइमा खटिएको हमालले बताए ।‘पर्यावरण संरक्षणमा पनि राम्रो सन्देश जाओस् भनेर सरसफाइमा लागेको हुँ,’ हमालले भने । साथै उनले स्थानीय व्यवस्थापन समितिलाई नदी किनारको नियमित सरसफाइमा जुट्न समेत आग्रह गरे ।

सानोमा राजेश हमाल हुर्किएको ठाउँ पनि यही हो । हमाल भन्छन्, ‘हामी यो ठाउँमा घुम्ने समयमा प्लास्टिकका वस्तु त्यस्तो धेरै हुँदैनथे । अहिले पानी, खाजा जे खाँदा पनि प्लास्टिक प्रयोग हुने भएकाले फोहोर पनि बढेको छ ।

झण्डै एक घण्टा आफैंले सफारी गाडी चलाएर हमालले त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!