ओलीको प्रश्न : शान्तिप्रक्रिया टुंग्याउन केले छेक्याे ?

Posted on: 26 Nov, 2021

मंसिर १०, काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अझै सशस्त्र द्वन्द्वका घाउहरू रहेको बताएका छन्। दशौँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले शान्तिप्रक्रिया उचित ढंगले टुंग्याउनुपर्ने बताउँदै यस्ताे भनेका हुन्।

उनले प्रश्न गरे, ‘शान्तिप्रक्रिया टुंग्याउन केले छेक्यो ? अझै द्वन्द्वका घाउहरू छन्। शान्तिप्रक्रिया टुंग्याउन बाँकी छ। घाइतेहरूको उपचार किन हुँदैन। शान्तिप्रक्रिया किन टुंगो लाग्दैन। बहिर्गमित लडाकुको समस्या किन समाधान हुँदैन।’

द्वन्द्वका कारण हिजो घरबारविहीन भएकाहरूलाई रोजगारी दिन समेत उनले आग्रह गरे। पार्टीको महाधिवेशन सम्पन्न हुनेबित्तिकै पूर्वलडाकुको समस्या समाधानमा एमालेले काम गर्ने उनको भनाइ छ।  उनले भने , ‘दशौँ हजार लडाकु एमालेमा प्रवेश गर्दै हुनुहुन्छ।’

उनले हिजाे जनताले गरेकाे त्यागकाे सही सदुपयाेग नेतृत्वले गर्न नसकेकाे बताए। उनले भने ‘हिजो त्याग कसका लागि रहेछ। कसैलाई मेयर र मन्त्री बनाउन रहेछ। राजमार्ग त तपाईंहरूले बनाउनुभयो, तर त्यसको फाइदा लिनेहरू को भए देख्नुभएको छ। नेकपा एमाले पूर्वलडाकुहरूको पनि पार्टी हो भ्रममा नपर्नुस्।’शान्तिप्रक्रिया सही ढंगले टुंग्याउनुपर्ने उनको भनाइ रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!