जनकपुरधामको बजेट रु एक अर्ब ४७ करोडः स्वास्थ्य स्वयंसेविका र पत्रकारलाई प्रोत्साहन

Posted on: 25 Jun, 2021

असार ११, धनुषा (रासस)। जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु एक अर्ब ४७ करोड ३० लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ ।  उपमहानगरपालिकाको सातौँ  नगरसभामा उपप्रमुख रीताकुमारी झाले  चालु खर्चतर्फ रु ९८ करोड २०लाख ६० हजार र पूँजीगततर्फ रु ४९ करोड ५० लाख २३ हजार विनियोजन गरिएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रकमका अतिरिक्त स्वास्थ्यतर्फ रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

जनकपुरधाम पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धित विविध कार्यक्रमका लागि रु ५० लाख विनियोजन गरेकोछ । आगामी आवदेखि  उपमहानगरपालिका भित्र स्नातकस्तरको प्राविधिक शिक्षालय सञ्चालन अनुमति प्राप्त गरी प्राविधिक शिक्षालय सञ्चालनका लागि रु ४० लाख नियोजन गरिएको छ । स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै वार्षिक पोशाक खर्च रु १० हजार र मासिक रुपमा प्राप्त गर्दै आएको यातायात खर्चमा रु ५००  वृद्धि गरिएको छ । 

श्रमजीवी पत्रकारको बीमा गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ धनुषालाई रु  तीन लाख  र  उपमहानगरपालिकाका सम्पूर्ण सञ्चारमाध्यमलाई समानुपातिक ढंगले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन रु तीन लाख  विनियोजन गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!