धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच दोहोरो गोली हानाहान

Posted on: 14 Sep, 2022

भदौ २९, धनुषा | धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

सोमबार अबेर राति पोर्ताहा प्रहरीचौकीबाट प्रहरी नायब निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा उनीहरूले फायर गरेपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी समूहका एक जनालाई बायाँ खुट्टामा गोली लागेर घाइते अवस्थामा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

उनको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!