दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन

Posted on: 01 Oct, 2020

असोज १५, दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि  शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न  निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र  सेमिनार पनि गर्न पाइने छैन ।  कोरोना सङ्क्रमित बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि केन्द्रले गरेको छ  । प्रमुख जिल्ला अधिकारी  एवं  केन्द्रका अध्यक्ष  रमेशप्रसाद शिवाकोटीले शैक्षिक सहजीकरणका नाममा विद्यालयले विद्यार्थी बोलाई जबर्जस्ती कक्षा  सञ्चालन गरेमा स्वयं विद्यालय र अभिभावक जवाफदेही बन्ने बताउनुभयो । 

बैठकले कोरोनाको सङ्क्रमण देखिएका स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकतानुसार अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न र  सभाजुलूस गर्न गराउन निषेध गरिएको छ ।

मठमन्दिर, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा दैनिक नित्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन । बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापारव्यवसायअन्तर्गतका स्थानमा स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलाप गर्न रोक लगाइएको छ । चाडपर्वलगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट पनि गर्न पाइने छैन । उद्योग, व्यापार, व्यवसाय, निर्माणलगायत कार्य पनि स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत गर्न पाइने छैन । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!